खरसाङमा टोय ट्रेनमार्फत विशेष भ्रमणको आरम्भ

चियाबारीदेखि वन क्षेत्रसम्म। रेडियो स्टेशनदेखि नेताजीको सम्झनाले भरिएको घरसम्म। यस्तै ह्वाइट अर्किड भूमि खरसाङलाई विश्वका पर्यटकहरूका सामु प्रस्तुत गर्न दार्जीलिङ हिमालयन रेलवे र वन विभागले पहल गरेका छन्। मङ्गलवार तिनीहरूले संयुक्त रूपमा तीन दिने विशेष भ्रमणको आरम्भ गरेका छन्। यसमा देशका विभिन्न क्षेत्रबाट आएका 15 जना टुर अपरेटर सहभागी भएका छन्। डीएचआरका निर्देशक ऋषभ चौधुरीले भने, विश्वको पर्यटन नक्सामा खरसाङलाई लोकप्रिय बनाउनकै लागि यो पहल गरिएको हो।
दार्जीलिङ जिल्लाका दर्शनीय स्थानहरूमध्ये खरसाङ पहाड़ एक प्रमुख गन्तव्य हो। यहाँ दार्जीलिङ हिमालयन रेलवे मुख्यालय, टोय ट्रेनको कारशेड, सङ्ग्रहालयदेखि डाउहिल वन, रेडियो स्टेशन रहेका छन्। पहाड़भरि फैलिएका विशाल चियाबारीहरू छन्। चारैतिर हरियाली देखिन्छ। डाउहिल वन भनेको नै रहस्यमय र चिसो वातावरणका लागि परिचित छ। नजिकै गिद्दे पहाड़ रहेको छ जहाँ नेताजी सुभाषचन्द्र बोसलाई नजरबन्दमा राखिएको थियो। यी सबै बाहेक यहाँ प्रशस्त मात्रामा अर्किड पाइन्छ। यहाँको ह्वाइट अर्किड विशेष रूपमा लोकप्रिय भएकाले यो क्षेत्र ह्वाइट अर्किड भूमि भनेर चिनिन्छ। सम्बन्धित क्षेत्रहरूलाई समेटेर वन विभागसित सहकार्यमा दार्जीलिङ हिमालयन रेलवेले विशेष भ्रमणको आयोजना गरेको हो। यो कार्यक्रम 30 अप्रेलसम्म चल्नेछ।
डीएचआर सूत्रअनुसार, यस भ्रमणमा दक्षिण भारतसहित देशका विभिन्न स्थानबाट टुर अपरेटरहरू आएका छन्। तिनीहरूलाई कहिले गाड़ीमा, कहिले टोय ट्रेनमा चढ़ाएर सम्बन्धित क्षेत्रहरू देखाइनेछ। टोय ट्रेन र चियाबारीको इतिहासबारे जानकारी दिइनेछ। वन क्षेत्रको जैविक विविधताबारे पनि जानकारी गराइनेछ। तिनीहरूले ट्रेकिङको पनि आनन्द लिन सक्नेछन्। विभिन्न राज्य तथा विदेशी पर्यटकहरूलाई खरसाङतर्फ आकर्षित गर्नकै लागि यो पहल गरिएको हो। आगामी दिन पर्यटन उद्योगमा यसबाट सकारात्मक प्रभाव पर्ने अपेक्षा डीएचआरले गरेको छ।

By Paromita