सप्तश्री ज्ञानपीठमा तीन दिवसीय ‘अलादिन जुनियर’ गीति नाटक मञ्चन

कालेबुङको एक प्रतिष्ठित विद्यालय सप्तश्री ज्ञानपीठमा विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभा, अभिनय क्षमता तथा कौशललाई प्रोत्साहन गर्ने उद्देश्यले १३, १४ र १५ अक्टोबरसम्म तीन दिवसीय ‘अलादिन जुनियर’ (Aladdin Jr.) अंग्रेजी गीति नाटक मञ्चन कार्यक्रम सम्पन्न भयो।
विद्यार्थीहरूको कलात्मक अभिव्यक्ति, सङ्गीत, नृत्य तथा अभिनय प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले विद्यालयको शैक्षिक गतिविधिसँगै अतिरिक्त सिर्जनात्मक क्रियाकलापको महत्त्वलाई पनि प्रतिबिम्बित गरेको छ।
गीति नाटकजस्ता प्रस्तुतिले विद्यार्थीहरूमा आत्मविश्वास, सामूहिक कार्य गर्ने भावना, अनुशासन तथा नेतृत्व क्षमताको विकास गर्न सहयोग पुर्‍याउँछन्। मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरले विद्यार्थीहरूलाई कला र संस्कृतिप्रति थप अभिरुचि जगाउन प्रेरित गर्छ।
सप्तश्री ज्ञानपीठले शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई महत्त्व दिँदै यस्ता सिर्जनात्मक कार्यक्रममार्फत उनीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै आएको वरिष्ठ शिक्षक डा.भुवन पी.खनाल र शिक्षिका छितेन शेर्पाले प्रेसलाई जानकारी दिएका छन्।

By Paromita