दार्जीलिङ जिल्लामा मतगणनाका लागि 700 कर्मी

पहाड़ र समतल क्षेत्र मिलाएर दार्जीलिङ जिल्लाका पाँचवटा विधानसभा क्षेत्रको भाग्य अहिले ईभीएममा कैद छ। आगामी 4 मईमा मतगणना हुनेछ। 152 वटा आसनमा पहिलो चरणको चुनाउ निर्विघ्न सम्पन्न भइसकेको छ। बाँकी आसनहरूमा आज 29 अप्रेलमा चुनाउ हुँदैछ। जिल्ला चुनाउ अधिकारी तथा जिल्ला अधिकारी हरिशङ्कर पनिक्करको निगरानीमा मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। फाँसीदेवा क्षेत्रमा आठजना, दार्जीलिङ क्षेत्रमा छजना, खरसाङ क्षेत्रमा सातजना, सिलगढ़ी क्षेत्रमा एघाह्रजना र मतिगढ़ा–नक्सलबारी क्षेत्रमा नौजना गरी कुल 41 जना उम्मेद्वारहरूको भाग्य 4 मईमा तय हुनेछ। दार्जीलिङ जिल्लाका पाँचवटा विधानसभा क्षेत्र (सिलगढ़ी, मतिगढ़ा–नक्सलबारी, फाँसीदेवा, खरसाङ र दार्जीलिङ) का ईभीएम र भीभीप्याटहरू तीनवटा फरक स्ट्रङरूममा राखिएका छन्। यी केन्द्रहरूको सुरक्षामा कुनै कमी नहोस् भन्ने आयोगको प्रयास छ।
समतल क्षेत्रका तीनवटा आसनका ईभीएमहरू सिलगढ़ी कलेजमा राखिएका छन्। यो स्ट्रङरूम लगभग 25 वटा सीसीटिभी क्यामेराबाट दिन रात निगरानीमा राखिएको छ। सेण्ट अल्फन्सस स्कूल र दार्जीलिङ गभर्नमेण्ट कलेजलाई क्रमशः खरसाङ र दार्जीलिङ पहाड़का स्ट्रङरूमको रूपमा प्रयोग गरिएको छ। प्रत्येक केन्द्रमा कम्तीमा 10 वटा सीसीटिभी क्यामेरा जड़ान गरिएको छ। सुरक्षाका लागि प्रत्येक स्ट्रङररूमबाहिर पहिलो तहमा केन्द्रीय सुरक्षा बलका हाफ सेक्शन जवानहरू तैनाथ छन्। दोस्रो र तेस्रो तहमा राज्य सशस्त्र पुलिस र जिल्ला पुलिसको कठोर निगरानी राखिएको छ। चुनाउ आयोगका सूत्रअनुसार तीनवटा केन्द्रमा मतगणना प्रक्रिया सुचारु रूपमा सञ्चालन गर्न कुल 700 जना मतदान कर्मचारीलाई नियुक्त गरिएको छ। मतगणनामा संलग्न कर्मचारीहरूलाई विशेष तालिम दिने कार्य मङ्गलवारदेखि आरम्भ हुनेछ। पहिलो चरणमा तिनीहरूलाई गणनाको नियमावली तथा भीभीप्याट स्लिप मिलाउने प्रक्रियाबारे विस्तृत जानकारी दिइनेछ। मतगणनाको दिन बिहान सम्बन्धित उम्मेद्वारका प्रतिनिधिहरूको उपस्थितिमा स्ट्रङरूमको सिल खोलिनेछ। त्यसपछि चरणबद्ध रूपमा मतगणना आरम्भ हुनेछ।
दार्जीलिङका जिल्ला अधिकारी हरिशङ्कर पनिक्करले भने, 4 मईमा मतगणना केन्द्रभित्र र बाहिर कुनै अप्रिय अवस्था सिर्जना नहोस् भनेर पुलिस गस्ती बढ़ाइएको छ। मतगणना केन्द्रको 100 मिटरभित्र धारा 144 लागू हुनेछ। केवल वैध परिचयपत्र भएका व्यक्तिहरूलाई मात्र मतगणना केन्द्रको तोकिएको क्षेत्रमा प्रवेश गर्ने अनुमति दिइनेछ। मत परिणाम घोषणा भएपछि कुनै राजनीतिक झड़प नहोस् भनेर सिलगढ़ी पुलिस कमिश्नरेट र जिल्ला पुलिस प्रशासनले पनि कठोर निगरानी राखिरहेको छ।

By Paromita