सेवा संकल्प अभियान अन्तर्गत आज खरसाङ नगरपालिका र दार्जिलिङ हिमालयन रेलवेको संयुक्त आयोजनामा खरसाङमा वाकथनको आयोजना गरिएको छ। गत 20 सेप्टेम्बरदेखि आगामी 6 अक्टोबरसम्म सेवा संकल्प अभियान अन्तर्गत खरसाङमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको छ। यसै अन्तर्गत आज वाकथनको आयोजना गरिएको छ। उक्त वाकथनलाई रोहिणी जिरो पोइन्टमा खरसाङका विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, खरसाङ नगरपालिकाको कार्यकारी अधिकारी थेन्डुप भोटिया आदिले संयुक्त रुपमा झण्डा हल्लाएर प्रस्थान गराएका थिए। यस कार्यक्रमलाई खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले सञ्चालन गरेका थिए। उक्त वाकथनमा 14 वर्षदेखि मुनिकाहरु, 14 वर्षदेखि 39 वर्षसम्म र 40 वर्षदेखि माथिकाहरु पुरुष, महिला सबै लगाएर लगभग 250 जनाभन्दा बेसीले सहभागिता जनाएका थिए। उक्त वाकथनमा विभिन्न वर्गमा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई प्रमाण पत्रसहित ट्रफी प्रदान गरिएको थियो भने सहभागी सबैलाई पारितोषिक वितरण विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, डीएमडीसी लाडेन लेप्चा, दार्जिलिङ हिमालयन रेलवेका निर्देशक रिसभ चौधरी, खरसाङ नगरपालिकाका कार्यकारी अधिकारी थेन्डुप भोटिया, फाइनेन्स अफिसर नोर्देन लामा, खरसाङ रेलवे स्टेशनका स्टेशन मास्टर संगम खाती, खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, प्रेस क्लब अफ् खरसाङका सभापति एवं वरिष्ठ पत्रकार एमएल पञ्चम आदिको बाहुलीबाट प्रदान गरिएको छ। यस कार्यक्रमलाई सबिना गिरीले सञ्चालन गरेकी थिइन्। यस वाकथन कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विधायक सोनाम लामा, महकुमा शासक पेमा शेर्पा, भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद आदिले विस्तृत रुपमा जानकारी गराएका छन्।
सेवा संकल्प अभियानअन्तर्गत खरसाङमा वाकथन, २५० भन्दा बढीको सहभागिता
