मलेसियाको पेराकस्थित ताइपिङमा आयोजित अन्तर्राष्ट्रिय ट्रेल रनिङ प्रतियोगिता ‘मलेसिया अल्ट्रा ट्रेल बाइ UTMB’ मा दार्जिलिङ तथा सिक्किमका गोर्खा धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ट्रेल रनिङको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरेका छन्।
शनिबार आयोजित प्रतियोगितामा ‘गोर्खा ट्रेल रनर्स क्लब’ का धावक वीरबहादुर राईले MY25 विधाअन्तर्गत २ घण्टा २५ मिनेटको उत्कृष्ट समय निकाल्दै प्रथम स्थान हासिल गरेका छन्। उनी २५ किलोमिटर (25K) विधामा UTMB शृङ्खलाको पोडियममा पुग्ने पहिलो भारतीय धावक बनेको दाबी गरिएको छ। यस उपलब्धिलाई भारतीय ट्रेल रनिङ क्षेत्रकै ऐतिहासिक सफलताका रूपमा लिइएको छ।
यसैगरी, दार्जिलिङको सुदूरवर्ती रिम्बिक–लोधोमा क्षेत्रका धावक सोमबहादुर थामी र हेमन्त लिम्बुले ५० किलोमिटर (50K) विधामा क्रमशः चौथो र पाँचौँ स्थान हासिल गर्दै क्षेत्रको गौरव बढाएका छन्।
प्रतियोगितामा सहभागी तीनैजना धावकहरूले सिक्किम तथा दार्जिलिङमा आधारित ‘गोर्खा ट्रेल रनर्स क्लब’ को प्रतिनिधित्व गरेका थिए।
क्लबका कोच तथा मेन्टर मोङ्गिया शेर्पाले मलेसियाबाट जानकारी दिँदै यस उपलब्धिले धावकहरूको व्यक्तिगत सफलतासँगै समग्र गोर्खा समुदायलाई खेलकुदको माध्यमबाट विश्व मञ्चमा चिनाउने कार्य गरेको बताए। धावकहरूलाई विश्वस्तरीय प्रतियोगितामा उभ्याउन लामो समयदेखि मेहनत गर्नुपरेको उल्लेख गर्दै शेर्पाले निरन्तर प्रयास र समर्पणले नयाँ बिहानी ल्याउन सफल भएकोमा गर्व महसुस गरेको बताए।
मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा बधाई
यसैबीच, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गोर्खा धावकहरूले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको उपलब्धिलाई ऐतिहासिक भन्दै बधाई दिएका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत वीरबहादुर राईको सफलताले सिक्किमको बढ्दो ट्रेल रनिङ समुदायमा खुशी र गर्वको वातावरण सिर्जना गरेको उल्लेख गरेका छन्। साथै, यस उपलब्धिले युवा धावकहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले दार्जिलिङका धावक सोमबहादुर थामी र हेमन्त लिम्बुले ५० किलोमिटर विधामा हासिल गरेको उत्कृष्ट प्रदर्शनको पनि प्रशंसा गरेका छन्। उनीहरूको सफलताले सिक्किम तथा दार्जिलिङ क्षेत्रको गौरव थप बढाएको मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल पोस्टमा बताएका छन्।
गोर्खा धावकहरूको यस सफलताले अन्तर्राष्ट्रिय ट्रेल रनिङको क्षेत्रमा दार्जिलिङ तथा सिक्किमका खेलाडीहरूको प्रतिभा, क्षमता र सम्भावनालाई उजागर गरेको छ।
