एनसीसीको वार्षिक प्रशिक्षण शिविरमा विद्यासागर उच्चतर माध्यमिक विद्यालयका क्याडेटहरूको उत्कृष्ट प्रदर्शन

मिरिक डिग्री कलेजमा गत १५ अक्टोबरदेखि २४ अक्टोबर २०२६ सम्म आयोजित ५ बीएन, एनसीसी पश्चिम बङ्गालको संयुक्त वार्षिक प्रशिक्षण शिविरमा विद्यासागर उच्चतर माध्यमिक विद्यालय, बिजनबारीका विद्यार्थी क्याडेटहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न प्रतियोगितामा पदक हासिल गरेका छन्।
विद्यालयका एएनओ (एसोसिएट एनसीसी अफिसर) सायन डेभिड राईको नेतृत्वमा १५ जना क्याडेटहरूले उक्त प्रशिक्षण शिविरमा सहभागिता जनाएका थिए। शिविर सम्पन्न भएपछि उनीहरू विद्यालय फर्किएका हुन्। विद्यालयबाट प्राप्त जानकारीअनुसार शिविरमा आयोजित विभिन्न प्रतियोगितामा सहभागी क्याडेटहरूले पदक हासिल गर्दै विद्यालयको नाम उच्च बनाएका छन्। प्रतियोगिताअन्तर्गत सार्जेन्ट रिनिल राईले डीएसटी ड्रिलमा स्वर्ण पदक तथा टक-अफ-वार (डोरी तान्ने) प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन्। त्यसैगरी, निशान्त सुब्बाले कर्पोरल डीएसटीमा कांस्य पदक हासिल गरेका छन् भने चेतना प्रधानले छात्रा समूहको निशानेबाजी प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी छन्। यसैगरी, निशा शर्माले भलिबल प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्। प्रदीप सुब्बाले टक-अफ-वार (डोरी तान्ने) प्रतियोगितामा रजत पदक प्राप्त गरेका छन् भने एन्जी छेत्री र कृतिका छेत्रीले पनि सोही प्रतियोगितामा रजत पदक हासिल गरेका छन्।
दसैँजस्तो महत्त्वपूर्ण चाडका अवसरमा घरपरिवारबाट टाढा रहेर पनि उत्साह, अनुशासन र लगनशीलताका साथ प्रशिक्षणमा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गरेको भन्दै विद्यालयका प्रधानाध्यापक अनिल थापाले सम्पूर्ण क्याडेटहरूलाई बधाई दिएका छन्। उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझ प्रगति हासिल गर्न शुभकामना व्यक्त गरेका छन्। शिविरमा सहभागी क्याडेटहरूका साथै एएनओ सायन डेभिड राईको योगदानको सम्मानमा विद्यालयमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। प्रशिक्षण शिविरमा विद्यार्थीहरूले हासिल गरेको यस उपलब्धिलाई विद्यालयका लागि गौरवको विषयका रूपमा लिइएको छ। यस्ता प्रशिक्षण तथा प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सामूहिक भावनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

By Paromita