मिरिक अन्तर्गत सौरेनी मेची प्राथमिक पाठशालाको छाना भत्किदा विद्यार्थी भाग्यले बाँचेका छन्। मिरिक महकुमा अन्तर्गत सौरनी मेची प्राथमिक पाठशालाको ढलान गरेको छानो भत्किएर झर्दा कक्षा कोठामा अध्यानरत विद्यर्थी भाग्यले बाचेका छन्। पाठशाला अचेल पाठशाला कम खण्डहर बढी देखिन थालेको छ। पाठशालाको पुर्वाधार जिर्ण बन्दै गएपछि शिक्षक, बिद्यार्थी लगायत अभिभावक सहित स्थानीयहरु पनि चिन्तित बनिरहेका छन। केही दिन अघि पाठशालाको सिलिङवाट कंक्रिट खसेको घटनापछि झनै बिद्यालयको खस्कँदो पुर्वाधार चर्चाको बिषय बन्यो। सन् १९४३ मा स्थापित उक्त पाठशालाको नयाँ भवन १९९८ मा तत्कालिन दागोपापका चियरमेन सुवास घिसिङले उद्घाटन गरेका थिए भने हाल पाठशालाको भवन जीर्ण बनेको छ। पाठशालाका प्रधान अध्यापक बविन गुरूङ, सह शिक्षक दिपक लोहारले जानकारी गराए अनुसार भवनको अवस्था गम्भीर बनेपछि पाठशालामा अध्यानरत विद्यर्थीहरूलाई अभिभावकहरूले बीचमा नै अन्य पाठशालातिर स्थानन्तरण गरिहेका छन्। पाठशालामा ३५ जना विद्यार्थीहरू अध्यानरत थिए भने हाल भवनको अवस्था जीर्ण भएपछि लगभग २० देखि २२ जना विद्यार्थीहरूलाई अन्यत्र लगेको बताइएको छ। उनीहरूले गत २०१४ देखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका सबै प्रमुख तथा विभागीय अधिकारीहरू, मिरिक एसआई कार्यलय, खण्ड विकास अधिकारी, विधायकहरू, पञ्चायत समिति, ग्राम पञ्चायत लगायत द्वारे सरकार शिविर सम्म पनि भवन निर्माण गरिने माग गर्दै पत्रचार गरिसके तापनि हालसम्म कसैले पनि यस विषयमा उचित पहल नचालेको बताएका छन्। पाठशाला भवनको अवस्था चिन्ताजनक भएको कारण विद्यार्थीहरू पठन पाठनसँगै शिक्षक शिक्षिकाहरू पनि समस्यामा परेका छन्। यता अभिभावकहरूले पनि पाठशाला भवनको अवस्थाबारे चिन्ता व्यक्त गर्दै जबसम्म भवनको पुन: निर्माण हुँदैन तबसम्म विद्यार्थीहरूलाई अन्य सुरक्षित स्थानमा लगेर पठन पाठन गराइदिने माग गरेका छन्।
जिर्ण पाठशालाको छाना भत्किँदा विद्यार्थी भाग्यले बाँचे
