शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले दार्जीलिङ नगरपालिकाले सडक किनारमा रहेका माछा तथा मासुका दोकानहरूलाई एकै ठाउँमा सार्ने प्रक्रिया शुरू गरेको छ। बुधबारदेखि पुरानो सुपर मार्केटको विपरीतपट्टि निर्माण गरिएको नयाँ भवनमा माछा तथा खसीका दोकानहरू सारिएको छ।
नगरपालिका अध्यक्ष दिपेन ठकुरीका अनुसार माछा तथा मासु बिक्रेता एसोसिएशनहरूसँग बैठक गरी उनीहरूको सहमतिमा नै यो प्रक्रिया अघि बढाइएको हो। आगामी सोमबारसम्म शहरका अन्य दोकानहरू पनि नयाँ स्थानमा सार्ने योजना रहेको उनले बताए। दोकानदारहरूले नयाँ भवनमा दोकान सञ्चालन गर्दा भाडाबाहेक अन्य शुल्क तिर्नु नपर्ने जनाएका छन्। यसरी दोकानहरू हटाइएको स्थानमा नगरपालिकाले सुन्दरीकरण गरी सर्वसाधारणका लागि विश्राम गर्ने चौतारी निर्माण गर्ने अध्यक्ष ठकुरीले जानकारी दिए।
दार्जीलिङमा सडक किनारका माछा-मासु पसलहरू नयाँ भवनमा स्थानान्तरण
