गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटीअन्तर्गत चुङथुङ–मेरिबुङ–तामसाङ समष्टिमा गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) को संगठनात्मक विस्तार तथा सुदृढीकरणलाई लिएर महत्वपूर्ण सभा सम्पन्न भएको छ।
सभामा समष्टिमा संगठनलाई थप व्यवस्थित, सक्रिय तथा सशक्त बनाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि वर्तमान गोरायुमो समष्टि कमिटीलाई भङ्ग गरी नयाँ समष्टि कमिटी गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। नयाँ समष्टि कमिटी गठन नभएसम्म संगठनात्मक गतिविधिलाई निरन्तरता दिन सुनिल थापालाई संयोजक पदमा सर्वसम्मतिले चयन गरिएको छ। संयोजकको जिम्मेवारीमा रहेर थापाले समष्टिअन्तर्गतका विभिन्न शाखाहरूमा संगठनलाई सक्रिय बनाउने तथा नयाँ कमिटी गठनको प्रक्रियालाई अघि बढाउने बताइएको छ। सभाले प्रत्येक शाखालाई थप सुदृढ गर्दै शाखास्तरबाट बुथस्तरीय कमिटी गठन गर्ने महत्वपूर्ण प्रस्तावसमेत पारित गरेको छ। संगठनलाई तल्लो तहसम्म विस्तार गर्दै युवाहरूको सहभागिता बढाउने उद्देश्यले बुथस्तरीय संरचनालाई प्राथमिकता दिने निर्णय गरिएको हो। यसैगरी, आगामी २२ सेप्टेम्बरमा आयोजना हुने गोर्खाल्याण्ड जनजागरण दिवस समारोहमा समष्टिअन्तर्गतका प्रत्येक शाखाबाट सक्रिय सहभागिता जनाउने प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ। ब्राञ्च कमिटीद्वारा जारी गरिएको शाखास्तरमा संगठन विस्तारसम्बन्धी निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णयसमेत सभाले गरेको छ। ब्राञ्च कमिटीको निर्देशनअनुसार शाखाहरूमा संगठनात्मक गतिविधिलाई तीव्रता दिँदै संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सभामा संगठन विस्तार, शाखाहरूको सुदृढीकरण, बुथस्तरीय संरचना निर्माण तथा आगामी कार्यक्रमहरूमा युवाहरूको प्रभावकारी सहभागितालाई केन्द्रमा राखेर विभिन्न विषयमा छलफल गरिएको थियो। समष्टिमा नयाँ नेतृत्व संरचना निर्माणसँगै गोरायुमोको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
चुङथुङ–मेरिबुङ–तामसाङमा गोरायुमो संगठन विस्तारलाई गति, नयाँ समष्टि कमिटी गठन नभएसम्म सुनिल थापा संयोजकमा सर्वसम्मत चयन
