भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिले रिम्बिक लोधोमा क्षेत्रका प्रकाश गुरुङलाई मण्डल इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ। दार्जिलिङ जिल्ला समितिका अध्यक्ष सञ्जीव तामाङले प्रकाश गुरुङलाई दार्जिलिङ मण्डल १ रिम्बिक लोधोमा समष्टि मण्डलको इन्चार्ज पदमा नियुक्त गरेको हो। नियुक्त गरिएपछि पार्टी संगठनलाई थप सुदृढ बनाउने, मण्डलस्तरमा पार्टी कार्यकर्ताहरूमाझ समन्वय कायम गर्ने तथा जिम्मेवारीलाई इमानदारी, समर्पण र अनुशासनका साथ निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। भाजपा जिल्ला समितिले नवनियुक्त मण्डल इन्चार्ज प्रकाश गुरुङलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको संगठनात्मक विस्तार तथा विकासमा सक्रिय योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। उल्लेखनीय छ प्रकाश गुरुङ रिम्बिक लोधोमा समष्टिको पूर्व सभासद थिए। सन् २०१२ सालमा गोर्खा जनमुक्ति मोर्चा पार्टीबाट उनले उक्त समष्टि सभासद्को रूपमा निर्विरोध चयन भएका थिए। उनले २०१७ को छुट्टै राज्य गोर्खाल्यान्ड माग विषय लिएर गरिएको आन्दोलन अवधि आफ्नो सभासद पदबाट राजीनामा दिने पहिलो सभासद थिए भने केही समय अघि मात्र उनी भाजपामा सामेल भएका थिए।
भाजपा दार्जिलिङ जिल्ला समितिद्वारा प्रकाश गुरुङलाई मण्डल इन्चार्जमा नियुक्त
