अर्को महीना मुम्बई प्रस्थान गर्ने करिमुल

अब के बाइक एम्बुलेन्स दादाको बायोपिक बलिवूडमा अन्तिम चरणमा पुगेको छ? यस्तै सङ्केत दिएका छन् पद्मश्री करिमुल हकले आफैले। तिनले भने, बोलाइएको छ। अर्को महीना मुम्बई जाँदैछु। त्यहीँ सबै कुराकानी अन्तिम हुनेछ। तर निर्देशक को हुने वा तिनको भूमिकामा कसले अभिनय गर्ने भन्ने विषयबारे अहिले नै केही भन्न चाहेनन् करिमुलले। तिनले भने, मुम्बईबाट फर्किएपछि नै सबै बताउनेछु। तर तिनलाई केन्द्रमा राखेर टलिउडमा हालै सम्पन्न देव अभिनीत बायोपिक बाइक एम्बुलेन्स दादा आगामी 15 अगस्तमा रिलिज हुने जानकारी दिएका छन् करिमुलले। डुवर्सको क्रान्ति र मालबजारका जङ्गल तथा चियाबारीमा छायाङ्कन गरिएको छ। अहिले ठूलो पर्दामा फिल्म रिलिजको प्रतीक्षा भइरहेको छ।
अर्कातिर पद्मश्रीले चन्दा उठाएर आफ्नै घरमा बनाएको अस्पताल र विद्यालयतर्फ ध्यान दिइरहेका छन्। तिनले भने, मेरो अस्पतालमा अहिले आउटडोर सेवा चलिरहेको छ। सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू निःशुल्क सेवा दिन आउँछन्। धेरै बिरामी आउँछन्। अस्पताललाई अझ विकसित बनाउने इच्छा छ। रगत परीक्षण, एक्स-रे, अल्ट्रासोनोग्राफीका लागि मेसिनहरू राख्ने योजना छ। बायोपिकबाट प्राप्त हुने रकमबाट यी सबै काम गर्ने योजना छ। अहिलेसम्म पाँचवटा बेड राखिसकेको छु। अस्पतालसितै आफ्नै घरमा सञ्चालन भइरहेको निःशुल्क विद्यालयको पूर्वाधार पनि विस्तार गर्ने इच्छा रहेको छ पद्मश्री करिमुलको। तिनले भने, गाउँका शिक्षित युवक–युवतीहरूले तलबबिना यहाँ पढ़ाउँछन्। गरीब परिवारका धेरै बालकबालिका यहाँ पढ्न आउँछन्। तिनीहरूको कोचिङ कक्षा पनि यहाँ हुन्छ।
जलपाइगढ़ीको क्रान्तिको दुर्गम राजाडाङ्गा गाउँका वासिन्दा हुन् करिमुल। सन् 1995 मा दुर्गम क्षेत्रमा आँधी–पानीको रात एम्बुलेन्स नपाउँदा समयमै अस्पताल लैजान नसक्दा तिनकी आमा जफुरेन्नेसाको मृत्यु भएको थियो। उपचार नपाएर आफ्नै आँखाअघि आमाको मृत्युले करिमुललाई गहिरो रूपमा प्रभावित बनायो। आफ्नो गाउँका अरू कसैलाई पनि यसरी संसार छोड्न नहुने तिनले निर्णय गरे। बिस्तारै पैसा जम्मा गरेर एउटा बाइक किने त्यसपछि त्यसैलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थाले। रात–बिरात कोही बिरामी भए आफ्नै बाइकमा चढ़ाएर अस्पताल लैजान थाले। यसरी नै क्षेत्रमा तिनको परिचय बाइक एम्बुलेन्स दादाका रूपमा भयो। समाज सेवामा उल्लेखनीय योगदानका लागि तिनलाई सन् 2017 मा पद्मश्री सम्मान प्रदान गरियो।
बाइक भए पनि अहिले चन्दाबाट एउटा एम्बुलेन्स किनिसकेका छन् करिमुलले। जहाँसुकै कुनै गरीब व्यक्ति बिरामी परेको खबर पाएपछि तिनी क्षणभर पनि ढिलो नगरी आफ्नै एम्बुलेन्स लिएर त्यहाँ पुग्छन्। त्यसपछि बिरामीलाई एम्बुलेन्समार्फत अस्पताल पुर्यानउँछन्। वर्षभरि नै यसरी तिनको समाज सेवा चलिरहन्छ। तिनले भने, मेरा लागि रात–दिन छुट्टै भन्ने केही हुँदैन। कुनै गरीब मानिस समस्यामा परेको सुन्दा म हात बाँधेर बस्न सक्दिनँ। एउटा अस्पतालबाट अर्को अस्पतालसम्म यसरी नै काम चलिरहन्छ। करिमुलमाथि बलिवूडमा बायोपिक बन्ने चर्चा यसअघि पनि सुनिएको थियो। कहिलेकाहीँ तिनको भूमिकामा नवाजुद्दीन सिद्दिकीले अभिनय गर्न सक्ने भनिएको थियो। कहिलेकाहीँ सोनु सूद, आमिर खान वा शाहरूख खानको नाम पनि चर्चामा आएको थियो। तर अन्ततः त्यो साकार हुन सकेको थिएन। यसपल्ट भने यो अन्तिम चरणमा पुग्न लागेको दाबी गरेका छन् करिमुलले।

By Paromita