सिलगढ़ीको खालपाड़ा क्षेत्रस्थित अग्रसेन रोडबाट ठगीको एक चकित पार्ने घटना प्रकाशमा आएको छ जहाँ एक महिलालाई पुलिसले बनेर आएका बदमासहरूले सुनका गहना ठगी गरी लुटेका आरोप लागेको छ। प्राप्त रिपोर्टअनुसार पुष्पा अग्रवाल बजारमा किनमेल गरेर रिक्शामा घर फर्किँदै गर्दा दुईजना युवकले तिनलाई रोकेर आफूहरू पुलिस भनेर परिचय दिए। तिनीहरूले उक्त क्षेत्रमा चेन स्न्याचिङका घटना बढ़ेको दाबी गर्दै सुरक्षाको कारण देखाएर तिनलाई गहना खोल्न आग्रह गरे।
तिनीहरूलाई विश्वास गरेर महिलाले आफ्नो सुनको हार, चुरा र औँठी खोलेर कागजमा राखिन्। यसै क्रममा आरोपीहरूले गोप्य रूपमा कागज साटेर तिनलाई अर्को प्याकेट दिएर घटनास्थलबाट सुइँकुच्चा ठोकेका आरोप छ। पछि घर पुगेपछि मात्र तिनले आफू ठगिएको थाहा पाइन्। घटना सार्वजनिक भएपछि उक्त क्षेत्रमा तनाउ उत्पन्न भएको छ।
खालपाड़ा आउटपोस्ट र सिलगढ़ी थाना पुलिसले घटनास्थलमा पुगेर जाँच आरम्भ गरेको छ। आरोपीहरूको पहिचानका लागि वरिपरिका क्षेत्रका सीसीटीभी फुटेज जाँच भइरहेको छ। स्थानीयवासीहरूले यसअघि पनि यस्तै प्रकारका घटना भएको आरोप लगाउँदै सुरक्षा व्यवस्थामाथि चिन्ता व्यक्त गरेका छन्।
सिलगढ़ीमा पुलिसको भेषमा ठगी
