लगभग हिंसामुक्त चुनाउमा उत्तर दिनाजपुरको चोपडाले उदाहरण प्रस्तुत गरेको छ। दिनभरि मतदान सम्पन्न भयो तर लगभग कतै पनि गड़बड़ी भएन। यस्तो दृश्य चोपड़ामा कहिले देखिएको थियो भन्ने कुरा स्थानीय वासिन्दाहरूलाई सम्झनै गाह्रो भएको छ।
अशान्ति, झड़प, गोलीबारी र बमबाजी चोपड़ाको मतदान भन्न साथ सबैको दिमागमा यिनै कुराहरू आउँथे। उत्तर बङ्गाल मात्र होइन राज्यकै एक प्रमुख हटस्पट मानिने यो विधानसभा क्षेत्रमा यसपल्ट भने बिल्कुलै फरक दृश्य देखिएको छ। पञ्चायत होस् विधानसभा वा लोकसभा मतदान भनेपछि रगत बग्ने नै भन्ने धारणा थियो। चोपड़ाको बिहान यस्तै आशङ्का बोकेर आरम्भ भएको थियो। तर मतदानमुखी चोपड़ाको बिहान यसपल्ट एकदमै फरक रूपमा आरम्भ भयो।
बिहीवार बिहानदेखि नै बूथ-बूथमा लामो लाइन देखियो। मतदाताहरू निर्बिघ्न रूपमा मतदान गरिरहेका थिए। कुनै डरधम्की थिएन, लाठी-डण्ठा लिएर दौड़धुप पनि थिएन। कतै पनि भयभीत मतदाताको अनुहार वा मतदान गर्न नपाएको गुनासो देखिएन। लगातारका चुनाउहरूमा रक्तपातपूर्ण घटनाका साक्षी बनेको यस क्षेत्रमा अधिकांश बूथहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भयो। कतै-कतै सानो तनाउ उत्पन्न भए पनि केन्द्रीय सुरक्षा बलले शीघ्र अवस्था नियन्त्रणमा लियो। चोपड़ाका वासिन्दा सरजित विश्वासले भने, म त अचम्ममा परेँ हरेकपल्ट झगड़ाको डरले छिट्टै मतदान गरेर घर फर्किन्थेँ। तर यसपल्ट दृश्य एकदमै फरक थियो। हामी यस्तै चाहन्छौँ। वरिष्ठ नागरिक हुडा मोहम्मद चिया पसलमा बसेर पुराना सम्झना सुनाउँछन्। तिनी भन्छन्, अकबर अलीको मृत्युको कुरा सम्झिन्छु। पञ्चायत चुनाउमा युवा मन्सुरले ज्यान गुमाएका थिए। त्यसैले मतदान आउँदा डर लाग्थ्यो। यसपल्ट भने त्यो डर हटेको छ।
त्यसपछि केही भ्रमको स्थिति उत्पन्न भयो। घटनास्थलमा कङ्ग्रेसका उम्मेद्वार जाकिर होसैन पुगे। यसमा मतदानकर्मीहरूको पनि संलग्नता रहेको तिनको आरोप छ। यसकारण केही समयका लागि मतदान प्रक्रिया रोकिन पुगे पनि पछि पुनः आरम्भ भई निर्बिघ्न रूपमा सम्पन्न भयो। चोपड़ाका नेता तथा तृणमूलका निवर्तमान विधायक र उम्मेद्वार हमिदुल रहमानले यसमा कुनै नयाँ कुरा नदेखेको बताए। तिनले भने, चोपड़ामा प्रत्येकपल्ट शान्तिपूर्ण मतदान हुन्छ। विपक्षीको षड़यन्त्रका कारण मात्र यस क्षेत्रको बदनाम हुन्छ। उत्तर दिनाजपुर जिल्ला भाजपा उपाध्यक्ष सुरजित सेनले भने, चुनाउ आयोगले उचित व्यवस्था गरेको कारण नै मानिसहरूले शान्तिपूर्वक मतदान गर्न सके। तृणमूलले गड़बड़ी गर्ने प्रयास गरे पनि सफल हुन सकेन।
चोपड़ामा शान्तिपूर्ण मतदान
