बिहान 6 बजीको समय। घरको काली मन्दिरमा पूजा गरी एशियाड स्वर्ण पदक विजेता स्वप्ना बर्मन पातकट्टा बीएफपी विद्यालयमा पुगिसकेकी थिइन्। तिनले हरियो रङको बङ्गालको तानेको साड़ी लगाएकी थिइन्। साथमा आमा बसनादेवी तथा दुई दाजु पवित्र बर्मन र असित बर्मन थिए। त्यति बेला 197 नम्बर बुथमा मोक पोल आरम्भ भइसकेको थियो। तिनी बारम्बार घड़ी हेर्दै थिइन्। दुई–तीनपल्ट बुथभित्र पसेर मतदानको तयारी सबै ठीकठाक छ कि छैन भनेर पनि हेरेर आइन्। त्यसपछि विद्यालयको सिँढ़ीमै बसेर पर्खिइन्। त्यतिञ्जेल राजगञ्जकी तृणमूल उम्मेद्वारको मोबाइलमा विभिन्न बुथबाट कार्यकर्ताहरूको फोन आउन थाल्यो। तिनले शान्त रूपमा तिनीहरूसित कुराकानी गरिन्। मतदान सकिञ्जेलसम्म कसैले पनि बुथ नछोड्न निर्देशन दिइन्। कुनै समस्या परे तुरुन्त फोन गर्न पनि भनिन्। यसैबीच घड़ीले सात बज्ने बित्तिकै बुथमा केन्द्रीय सुरक्षाबलको सक्रियता बढ्यो। फ्लाइङ स्क्वाड पनि आइपुग्यो। मतदान कर्मचारीहरूले मतदान आरम्भ हुने जानकारी दिए।
स्वप्नाको योजना आफ्नो छिमेककै बुथमा सबैभन्दा पहिले मतदान गर्ने थियो। सोही अनुसार तिनी समयभन्दा अगाड़ि आएर लाइनमा उभिइन्। सबैभन्दा पहिले तिनी नै मतदान गर्न बुथभित्र छिरिन्। त्यसपछि तिनकी आमा र दुई दाजुले मतदान गरे। बुथबाट बाहिर निस्कँदा तिनले औँलामा लागेको मसी देखाउँदै विजयको सङ्केत दिइन्। तिनले भनिन्, धेरै वर्षदेखि मतदान गर्दै आएकी छु। तर यसपटकको मतदान अन्यभन्दा पूर्ण रूपमा फरक छ। यसपटक मैले आफैँलाई नै मतदान गरेँ। स्वप्ना बुथबाट बाहिर निस्कँदा मतदान लाइन लामो भइसकेको थियो। आकाश बादलले ढाकिएको थियो र हावा चलिरहेको थियो। वैशाख महीनाको यस्तो बिहान भएकोमा राजगञ्जकी तृणमूल उम्मेद्वारले भनिन्, मतदानको मौसम पनि राम्रो छ। यसपल्ट चुनाउव अत्यन्त महत्त्वपूर्ण छ किनकि यसले हाम्रो अधिकार सुरक्षित हुन्छ कि हुँदैन भन्ने निर्धारण गर्छ। हाम्रो पहिचान र बङ्गालको अस्मिता जोगिन्छ कि जोगिँदैन भन्ने पनि यसैमा निर्भर छ। राजगञ्जका जनताले सबै कुरा विचार गरेर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेका छन् मेरो विश्वास छ।
मतदान गरेर स्वप्ना राजगञ्जका 12 वटा क्षेत्रमा अवलोकनमा निस्किइन्। कहिले तिनी फाटापुकुर पुगिन् भने कहिले अमबाड़ी, टाकीमारी चर र गेटबजार क्षेत्रका बुथहरूमा पुगिन्। मतदान कस्तो भइरहेको छ भनेर तिनले कार्यकर्ताहरूबाट जानकारी लिइन्। आफै पनि मतदान केन्द्रभित्र पस्दै सबै कुरा ठीक छ कि छैन भनेर जाँच गरिन्। दिनको अन्त्यमा जीतप्रति स्वप्ना विश्वस्त देखिइन्। तृणमूलका राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम बन्द्योपाध्यायले भने, बिहानदेखि नै बुथमा बसेर मतदान सम्पन्न गराएका छौँ। हिसाब गर्दा 8-10 हजार मतको अन्तरले हामी राजगञ्जमा जित्नेछौँ भन्ने सक्छु। शिकारपुर पतिलाभासास्थित आफ्नै बुथमा मतदान गरेका राजगञ्जका निवर्तमान विधायक तथा तृणमूलका जिल्ला अध्यक्ष खगेश्वर रायले भने, स्वप्ना त जित्नेछिन्। जिल्लाका सातवटै क्षेत्रमा यसपल्ट हामी विजयी हुनेछौँ। साँझतिर भाजपा उम्मेद्वार दिनेश सरकार (हराधन) ले भने, मतदान राम्रो भएको छ। बुथका कार्यकर्ताहरूबाट आएको जानकारीअनुसार म विजयी हुनेछु। तर कति मतले जित हुन्छ, अहिले त्यसबारे भन्न सकिँदैन।
मतदानपछि क्षेत्रको अवलोकनमा स्वप्ना बर्मन
