जिल्लाभरि दागी अपराधीहरूको पक्राउ जारी छ। निर्वाचन सञ्चालनमा कर्तव्यप्रति लापरवाही देखिए कठोर कदम चालिनेछ। मालदा जिल्लाको निरीक्षणमा आएर राज्यका मुख्य निर्वाचन अधिकारी मनोज अग्रवालले स्पष्ट रूपमा यस्तै बताएका छन्। आज जानकारी दिँदै तिनले भने, विधानसभा आधारमा कण्ट्रोल रूम खोलिएको छ। प्रत्येक मतदान केन्द्रको वेबकास्टिङ यी कण्ट्रोल रूमबाट निगरानी गरिनेछ। उक्त दृश्य जिल्ला निर्वाचन अधिकारी र मुख्य निर्वाचन अधिकारीको कार्यालयबाट पनि हेर्न सकिनेछ। आयोग सूत्रअनुसार मुख्यतः माइक्रो अब्जर्भरहरूलाई नै कण्ट्रोल रूमको वेबकास्टिङ निगरानीको जिम्मावारी दिइएको छ।
23 अप्रेलमा राज्यको पहिलो चरणको विधानसभा चुनाउ हुँदैछ। त्यसअघि मुख्य निर्वाचन अधिकारीको जिल्लास्तरीय भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ। सोमवार बिहान लगभग 9 बजी हेलिकप्टरमार्फत मुख्य निर्वाचन अधिकारी मालदा पुगे। लगभग 10 बजी तिनी पहिले जिल्ला प्रशासनिक कार्यालय पुगे। त्यहाँ तिनले सर्वदलीय बैठक बोलाएर राजनीतिक दलहरूबाट निर्वाचन सम्बन्धी अभाव–गुनासो सुने। त्यसपछि तिनले डीएम कार्यालयको कण्ट्रोल रूमको निरीक्षण गरे। जिल्ला प्रशासनिक कार्यालयबाट निस्किएपछि सीईओ दुर्गाकिङ्कर सभाकक्ष पुगे। त्यहाँ डीएम, एसपी, पुलिस तथा सामान्य पर्यवेक्षक, एडीएम, अतिरिक्त एसपी लगायत सबै रिटर्निङ अफिसर, बीडीओ, आईसी, ओसीहरूसित बन्द कोठामा बैठक गरे। प्रशासन सूत्रअनुसार तिनले धेरै कठोर निर्देशन दिएका छन्।
आज मुख्य निर्वाचन अधिकारीले भने, राज्यभरि दागी अपराधीहरूलाई पक्राउ गर्नका लागि निर्देशन दिइएको छ। डीएम, एसपीदेखि आईजी, डीआईजी, एडीजीहरूसित बैठक गरिनेछ। त्यसपछि कुन जिल्लामा कतिजना पक्राउ परेका छन् र कति बाँकी छन् भन्ने थाहा हुनेछ। तिनले जानकारी दिए अनुसार, मतदान केन्द्रको 100 मिटरभित्र केन्द्रीय सुरक्षा बल रहनेछ। मतदान केन्द्रबाहिर एकजना कन्स्टेबलले मात्र मतदाताहरूको लाइन व्यवस्थापन गर्नेछ। रिटर्निङ अफिसरको प्रमाणपत्र भए पनि निर्वाचन सम्बन्धी जिम्मावारी पाएका कर्मचारीहरूले केन्द्रीय बलको अनुमति लिएर मात्र मतदान केन्द्रमा प्रवेश गर्नुपर्नेछ। म्याजिस्ट्रेट स्तरका अधिकारीहरूको नेतृत्वमा केन्द्रीय बलको क्विक रेस्पोन्स टोली रहनेछ। कतै उजुरी आएलगत्तै क्यूआरटी टोलीलाई घटनास्थलमा पुग्नुपर्नेछ।
निर्वाचन सञ्चालनमा लापरवाही देखिए कठोर कारवाही
