4 मईमा चुनाउको परिणाम नआउञ्जेल सबै दलका नेतृत्व र उम्मेद्वारहरू तनाउमा रहनेछन्, यो स्वाभाविक हो। तिनीहरूसितै 4 तारिखसम्म प्रभावकारी रूपमा निद्राविहीन रात बिताउन बाध्य भएका छन् सत्तारूढ़ तृणमूलका काउन्सिलरहरू पनि। कारण दलको नेतृत्वबाट मतदानअघि नै तिनीहरूलाई स्पष्ट सन्देश दिइएको थियो वार्ड जिताऊ, टिकट पाऊ। अर्थात् आफ्नै वार्डमा पराजित भए आगामी नगरपालिका चुनाउमा टिकट पाइने छैन। त्यसैले छाती ठोकेर राम्रो परिणामको दाबी गरे पनि कोचबिहारका सबै नगरपालिकाका सत्तारूढ़ काउन्सिलरहरूको मनमा चिन्ताले घर बनारहेको छ। यद्यपि सार्वजनिक रूपमा कसैले पनि यस विषयलाई स्वीकार गर्न चाहिरहेका छैनन्। एक वर्ष नबित्दै राज्यमा नगरपालिका चुनाउ हुँदैछ। कोचबिहारमा छवटा नगरपालिका छन् कोचबिहार, दिनहाटा, माथाभाङ्गा, मेखलीगञ्ज, हल्दीबाड़ी र तुफानगञ्ज। यी सबै नगरपालिका तृणमूलको नियन्त्रणमा भए पनि पछिल्लो लोकसभा चुनाउमा अधिकांश वार्डमा तृणमूल भाजपा भन्दा पछि रहेको थियो। यसपल्ट मतदाता सूचीको विशेष गहन संशोधन (एसाईआर) का कारण धेरै नाम हटाइएकाले कम अन्तरमा जीत–हार निर्धारण हुने राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्। अघिल्ला चुनाउहरूमा शहरी मत सत्तारूढ़ दलसित नरहेकाले यसले काउन्सिलरहरूको चिन्ता अझ बढ़ाएको छ। शहरमा अन्तर घटाउन तिनीहरूलाई एकप्रकारको निर्देशन दिइएको थियो, लिड ल्याउनैपर्ने।
2024 मा तृणमूलले कोचबिहार लोकसभा आसन जिते पनि शहरको परिणाम खराब थियो। त्यसपछि राज्यसितै जिल्लाका छवटै नगरपालिकाका अध्यक्ष परिवर्तन गरियो। 2024 को लोकसभा चुनाउमा कोचबिहार शहरका 20 वटा वार्डमा सत्तारूढ़ दल 18 हजारभन्दा बढ़ी मतले पछि परेको थियो। दिनहाटा नगरपालिका क्षेत्रमा भाजपाभन्दा लगभग 2500 मतले पछि थियो। मेखलीगञ्ज नगरपालिका क्षेत्रमा अन्तर 3000 थियो। त्यसैले काउन्सिलरहरूमाथि दबाउ बढ़ी थियो।
दलका उम्मेद्वारलाई जिताउन कोचबिहारदेखि तुफानगञ्ज, माथाभाङ्गा लगायत सबै नगरपालिकाका काउन्सिलरहरू आफ्ना वार्डमा उम्मेद्वारलाई जिताउन पूर्ण रूपमा सक्रिय भए। यद्यपि यस विषयमा काउन्सिलरहरूभित्र असन्तोष पनि रहेको छ। नाम नखुलाउन चाहने शर्तमा कोचबिहारका एक काउन्सिलरले भने, नगरपालिका चुनाउ र लोकसभा वा विधानसभा चुनाउ एउटै होइन। तीनै तहमा फरक–फरक मुद्दा हुन्छन्। यहाँ काउन्सिलरको चुनाउ सानो क्षेत्रमा हुन्छ जहाँ व्यक्तिगत चिनाजाना काम लाग्छ। त्यसैले विधानसभा चुनाउको परिणामसित टिकटको विषय जोड्नु हुँदैन। तृणमूलका एक जिल्ला नेताले भने, धेरै ठूला नेताहरू पनि नगरपालिका चुनाउमा आफ्नै वार्डमा हारेका छन्। त्यसैले यस्तो अवस्थामा विधानसभा लिडका आधारमा टिकटबारे सोच्नु उपयुक्त हुँदैन। यस विषयमा तृणमूल कङ्ग्रेसका जिल्ला उपाध्यक्ष अब्दुल जलील अहमदले भने, प्रत्येक काउन्सिलरले आफ्नै तरिकाले मेहनत गरेका छन्। तिनीहरूले उम्मेद्वारहरूलाई जिताउन कठोर परिश्रम गरेका छन्। म यति नै भन्न चाहन्छु।
वार्डमा लिड रहला? काउन्सिलरहरू तनाउमा
