जनताको मत ईभीएममा बन्द छ। मतदाताहरूको समर्थन कसको पक्षमा गएको छ? गणनाअघि नै त्यसको आभास पाउन सत्तारूढ़ दलदेखि विपक्षी दलसम्म इच्छुक छन्। चुनाउको पहिलो चरण सम्पन्न भइसकेको छ। दोस्रो चरणको मतदान बाँकी छ। त्यसअघि उत्तर बङ्गालमा गणनाको काउण्टडाउन आरम्भ भइसकेको छ। सबै दलले हिसाब–किताब गर्दैछन्, अपेक्षाअनुसार मत आफ्नो पक्षमा परेको छ कि छैन भन्ने मूल्याङ्कन चलिरहेको छ। तृणमूल कङ्ग्रेस र भाजपा दुवै दलभित्र विश्लेषण आरम्भ भएको छ। यसपल्ट मतदान प्रतिशत उच्च भएकाले गणनात्मक पक्षमा अझ बढ़ी ध्यान दिनु परेको छ।
जलपाइगढ़ी जिल्लाका सातवटा विधानसभा क्षेत्रमा मतदान प्रतिशत 90 प्रतिशतभन्दा अधिक पुगेको छ। अघिल्लो रेकर्ड पार गर्दै मानिसहरू बूथको लाइनमा उभिएका थिए। यो अतिरिक्त मत कुन दिशातर्फ गयो भन्नेबारे उत्सुकता अत्यधिक छ। कुन बूथमा दलको कति अग्रता छ, कति पछाड़ि पर्ने सम्भावना छ भन्ने विषय गणनाअघि नै परीक्षण गरेर परिणामको पूर्वानुमान गर्न सत्तारूढ़ र विपक्षी नेताहरू लागिपरेका छन्। त्यसैले बूथस्तरमा सर्वेक्षण गरी रिपोर्ट तयार गर्ने कार्य आरम्भ भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आइतवार पहिलो चरणका 152 आसनमध्ये 110 आसनमा भाजपा विजयी हुने दाबी गरेका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले यसको प्रतिवाद गर्दै भाजपा शून्यमा झर्ने मन्तव्य दिएकी छन्। शीर्ष नेताहरूका यस्तो दाबीले तल्लो तहमा अझ दबाउ बढ़ाएको छ। जिल्लाका नेता–कार्यकर्ताहरूले कसको झोलामा कति मत पर्छ भन्ने अग्रिम हिसाब गरिरहेका छन्।
गत बिहीवार मतदान सम्पन्न भएपछि समग्र स्थितिबारे कोलकातामा तृणमूलको जिल्ला नेतृत्वले रिपोर्ट पठाएको थियो। त्यसपछि बूथ आधारित रिपोर्ट सङ्कलन गर्ने पहल गरिएको छ। त्यसको तयारी स्वरूप लाटागुड़ीमा सबै ब्लक अध्यक्षहरूसित आइतवार साँझ तृणमूलकी जिल्ला अध्यक्ष महुआ गोपले बैठक गरिन्। तयार हुने रिपोर्टमा के–के रहनेछ? कुन बूथमा कति मत परेको छ, त्यहाँ दलको पक्षमा कति मत आउन सक्छ, कहाँ कम्ती मत परेको छ यी सबै तथ्याङ्कलाई रिपोर्टको रूपमा तयार गर्नु पर्नेछ। यसका लागि जिम्मेवारी ब्लक अध्यक्षहरूलाई दिइएको छ। तिनीहरूले क्षेत्रीय अध्यक्ष र बूथ अध्यक्षहरूसित कुराकानी गरेर यी सबै तथ्य सङ्कलन गर्नेछन्। त्यसकै आधारमा रिपोर्ट तयार हुनेछ। महुआले भनिन्, साधारण जनताको उत्साह र मतदान दर हेर्दा लाग्छ कि जनताको निर्णय हाम्रो पक्षमा छ। त्यति मात्र होइन अघिल्लो चुनाउभन्दा यसपल्ट हाम्रो परिणाम अझ राम्रो हुनेछ।
भाजपा पनि निष्क्रिय छैन। सूत्रअनुसार मण्डल अध्यक्षहरूसित कुराकानी गरेर मतदान सम्बन्धी जानकारी सङ्कलन भइरहेको छ। यसअघि नै केही मण्डलबाट सम्बन्धित क्षेत्रको मतदान अवस्थाबारे जिल्ला नेताहरूसमक्ष रिपोर्ट प्रस्तुत गरिएको छ। अघिल्लो पटकको जीत–हारको अन्तर कति परिवर्तन हुन सक्छ भन्ने अनुमान गर्न जिल्ला नेताहरू लागिपरेका छन्। जलपाइगढ़ी लोकसभा क्षेत्रका सांसद जयन्तकुमार रायले भने, मतदानको दिनदेखि अहिलेसम्म प्राप्त रिपोर्टनअनुसार हामी जिल्लाका सातै आसन जित्ने अवस्थामा छौँ। तर ईभीएम खोल्नअघि पर्खनु आवश्यक छ। अब पर्खाई केवल सात दिन मात्र बाँकी छ। महुआ र जयन्तकुमारहरूको चिन्ता क्रमशः बढ्दै गइरहेको छ।
कुन बूथमा कति मत, दलहरूद्वारा विश्लेषण
