अङ्ग्रेजी माध्यममा अङ्ग्रेजी शिक्षक नै छैन

अङ्ग्रेजी माध्यमको विद्यालयमा विद्यार्थी भए पनि शिक्षक छैनन्। कुनै न कुनै रूपमा कक्षा सम्हालिरहेका छन् बङ्गला माध्यमका शिक्षकहरूले। यस्तो अवस्था सिलगढ़ी बोइज र गर्ल्स हाई स्कूलको अङ्ग्रेजी माध्यममा देखिएको छ। यस विषयमा सम्बन्धित दुई विद्यालयका केही शिक्षक-शिक्षिकाहरू निकै असन्तुष्ट छन्। यसअघि राज्य सरकारसमक्ष पटक–पटक आग्रह गरे पनि अङ्ग्रेजी माध्यमका लागि शिक्षक उपलब्ध नगराइएको तिनीहरूको आरोप छ। अब नयाँ राज्य सरकारसमक्ष यस विषयबारे पुनः आग्रह गरिनेछ।
सिलगढ़ी शहरमा निजी अङ्ग्रेजी माध्यम विद्यालयहरूको प्रभुत्व रहेको छ। यस्तो अवस्थामा राज्यका अन्य भागहरूझैँ यहाँ पनि राज्य सरकारले अङ्ग्रेजी माध्यम विद्यालय सञ्चालन आरम्भ गरेको हो। तीमध्ये सिलगढ़ी गर्ल्स हाई स्कूल एक हो। बङ्गला माध्यमसितै यहाँ कक्षा पाँचदेखि बाह्रसम्म अङ्ग्रेजी माध्यममा पठन–पाठन हुने गर्दछ। विद्यालय सूत्रअनुसार, कक्षा पाँचदेखि बाह्रसम्म यी आठ अङ्ग्रेजी माध्यम कक्षामा प्रत्येकमा लगभग 40 जना छात्रा गरी झण्डै 320 जना छन्। तर अङ्ग्रेजी माध्यमका लागि कुनै शिक्षिका छैनन्। बङ्गला माध्यमका शिक्षिकाहरूले नै छात्राहरूलाई पढ़ाइरहेका छन्। विद्यालयकी प्रधान शिक्षिका अत्युहा बागचीले भनिन्, बङ्गला, अङ्ग्रेजी र गणित विषयको पठन–पाठनमा समस्या छैन। तर जीवन विज्ञान, भौतिक विज्ञान, भूगोल र इतिहास विषयको पठन–पाठनमा अङ्ग्रेजी माध्यमका कक्षामा समस्या भइरहेको छ। मैले लामो समय विभिन्न अङ्ग्रेजी माध्यम विद्यालयमा अध्यापन गरेकी छु। त्यही अनुभव यहाँ प्रयोग गरिरहेकी थिएँ। अब केही महीनापछि म पनि अवकाश लिनेछु। त्यसपछि अङ्ग्रेजी माध्यमका कक्षा कसरी सञ्चालन हुन्छ भनेर बुझ्न सकेकी छैन।
शहरकै अर्को प्रसिद्ध विद्यालय सिलगढ़ी बोइज हाई स्कूल हो। यहाँ पनि कक्षा पाँचदेखि बाह्रसम्म अङ्ग्रेजी माध्यममा पठन–पाठन हुन्छ। विद्यालय सूत्रअनुसार, सन् 2018 मा यहाँ अङ्ग्रेजी माध्यम कक्षा आरम्भ गरिएको थियो। कक्षा पाँचदेखि बाह्रसम्म यी आठ कक्षामा यहाँ लगभग 470 जना विद्यार्थी छन्। प्रत्येक कक्षामा औसत 59 जना विद्यार्थी छन्। तर अङ्ग्रेजी माध्यमका लागि कुनै शिक्षक छैनन्। गर्ल्स स्कूलजस्तै यहाँ पनि अङ्ग्रेजी माध्यम यस्तै अवस्थामा सञ्चालन भइरहेको छ। कक्षा 11 र 12 मा बङ्गला र अङ्ग्रेजी माध्यमका विद्यार्थीहरूलाई एकै ठाउँ कक्षा लिइँदैछ। पटक–पटक राज्य सरकारसित अङ्ग्रेजी माध्यमका लागि शिक्षक पद सिर्जना गर्न माग गरिए पनि कुनै परिणाम नआएको आरोप छ। यहाँसम्म कि कक्षाहरू व्यवस्थित रूपमा सञ्चालन गर्न छवटा विषयका शिक्षक माग गर्दा पनि प्राप्त भएको छैन। सिलगढ़ी बोइज हाई स्कूलका प्रधान शिक्षक उत्पल दत्त र गर्ल्सका प्रधान शिक्षिका अत्युहा बागची दुवैले भने, अङ्ग्रेजी माध्यम विद्यालयहरूको माग रहेको छ। त्यसैले शिक्षकको समस्या समाधान गर्न राज्य सरकारसमक्ष आग्रह गरिनेछ।

By Paromita