अबेर राति रेकी गरी साहसिक डकैती गरिएको छ इटाहारमा। ग्यास कटर प्रयोग गरी शटर तथा धेरैवटा फलामका गेटका तालाहरू काटेर गोल्ड लोन प्रदान गर्ने संस्थाको कार्यालयमा डकैती गरिएको हो। आइतवार बिहान इटाहारको चौरङ्गी मोड़मा स्थानीय वासिन्दाहरूले यो घटनाबारे थाहा पाए। संस्थाको कार्यालयको भल्ट काटेर करोड़ौँ रुपियाँ बराबरको सुन र नगद लुटेर अपराधीहरूले सुइँकुच्चा ठोकेका छन्। पुलिस सूत्रअनुसार शनिवार अबेर राति केही घण्टासम्म यो अपरेशन चले पनि अलार्म बजेन। कार्यालयमा कोही पनि नाइट गार्ड थिएन। यसले शङ्का अझ बढ़ाएको छ। सातजनालाई नियन्त्रणमा लिएर सोधपुछ आरम्भ गरिएको छ।
राष्ट्रिय राजमार्ग किनारामा रहेको उक्त संस्थाको कार्यालय दोस्रो तल्लामा छ। पछाड़िको भागमा जङ्गल र बस्ती छ। पुलिसको अनुमानअनुसार अपराधीहरू पहिले पछाड़िको जङ्गलबाट चढ़ेर माथि पुगे। त्यसपछि संस्थाको मुख्य गेट अगाड़िको ग्रिल काटेर भित्र प्रवेश गरे। मुख्य गेटको शटर र फलामका गेटका तालाहरू काटेर बायोमेट्रिक उपकरण जड़ित काँचको ढोका खोलेर भित्र पसे र थप दुईवटा फलामका गेट तथा काठको ढोकाका तालाहरू काटे। त्यसपछि भल्टबाट ग्राहकहरूले राखेका सुन र नगद लुटे। त्यसपछि संस्थाको भित्र र बाहिर तीनवटा ग्यास सिलिण्डर फालेर सुइँकुच्चा ठोके। बिहान भाग्ने क्रममा एक सब्जी व्यापारीले केही व्यक्तिहरूलाई देखेका थिए। प्रत्यक्षदर्शी हिरण प्रधानले भने, लगभग साढ़े चार बजी अँध्यारै रहँदा कसैलाई चिन्न सकिनँ।
घटनाको खबर पाएपछि एसडीपीओ मोहम्मद बदिउज्जमान र इटाहार थाना इञ्चार्ज अभिषेक तालुकदार घटनास्थलमा पुगे। पुलिसले घटनास्थल निरीक्षण गरेपछि चौरङ्गी मोड़ क्षेत्रमा रहेका विभिन्न पसल र सड़कका सीसी क्यामेराको फुटेज जाँच गरिरहेको छ। स्थानीयहरूलाई पनि सोधपुछ गरिएको छ। कार्यालयको सीसी क्यामेराको हार्ड डिस्क पुलिसले जफत गरेको छ। पुलिसअनुसार प्रमाण नष्ट गर्न कार्यालयको सीसी क्यामेरा तोड़फोड़ गर्नुका साथै हार्ड डिस्कको तार काटेर क्यामेरा निष्क्रिय बनाइएको थियो। संस्थाका प्रबन्धक भास्कर महन्तले भने, राति कुनै गार्ड थिएन र अलार्म पनि बजेन। तर यसको कारण तिनले स्पष्ट गर्न सकेनन्। कति रकम बराबरको सुन र नगद लुटिएको हो भन्ने स्पष्ट नभए पनि अनुमानअनुसार जम्मा गरेर केही करोड़ रुपियाँ बराबरका गरगहना समूहले लुटेको छ। कार्यालयको रजिस्टरमा केही अनियमितता फेला परेको जाँचकर्ताहरूले जानकारी दिएका छन्। कर्मचारीहरूको भनाइमा पनि असङ्गति देखिएको छ। संस्थाको मुख्य गेट नजिकैको कोठामा स्थानीय औषधी पसलका एक कर्मचारी सुतेका भए पनि तिनले केही थाहा पाएनन्। जाँचको हितका लागि ती कर्मचारीसहित संस्थाका छजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
पुलिसअनुसार लगभग दुईदेखि तीन घण्टासम्म यो लुटपाट चलेको थियो। उक्त डकैतीमा बिहार वा झारखण्डका समूहको संलग्नता हुन सक्ने अनुमान गरिएको छ। सीसी क्यामेराको फुटेजमा स्पष्ट देखिन्छ कि अबेर राति संस्थाको तल तीनजना घुमिरहेका थिए। त्यसैले जाँचकर्ताहरू निश्चित छन् कि पहिल्यै रेकी गरेर यो अपरेशन सञ्चालन गरिएको थियो। अपराधीहरूले प्रयोग गरेका वाहनको खोजी भइरहेको छ। इटाहार थाना इञ्चार्जले बताएअनुसार संस्थाका प्रबन्धकसहित सातजना शङ्कास्पद व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। इटाहार शहरको मुख्य केन्द्रमै यस्तो भीषण डकैती भएपछि स्थानीयवासीहरू आतङ्कित भएका छन्। क्षेत्रका व्यापारी सुनिल बसाकले भने, यति ठूलो डकैती हुनेछ भन्ने कल्पना पनि गर्न सकिँदैन।
