मतदानपछिको अवस्थालाई शान्त राख्न सिलगढ़ी पुलिसले कठोर अड़ान लिएको छ। कुनै पनि प्रकारको हिंसा वा अशान्तिको घटनामा शून्य सहिष्णुता नीति अपनाइने पुलिस कमिश्नरेट सइद वाकर राजाले जानकारी दिएका छन्।
बुधवार एक उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलन गरेर पुलिस कमिश्नरेट सइद वाकर राजाले भने, विजय उत्सवको नाममा कुनै पनि प्रकारको हिंसा सहन गरिने छैन। यस्तो घटना भए तुरुन्तै कानूनी रूपमा कठोर कारवाही गरिनेछ। पत्रकार सम्मेलनमा दार्जीलिङ जिल्ला शासक हरि शङ्कर पानिककर, एसएसबी जिल्ला समन्वयक गौतम सागर उपस्थित थिए।
तिनले थप जानकारी दिएअनुसार, शहरका विभिन्न संवेदनशील क्षेत्रहरूमा निगरानी बढ़ाइएको छ र पुलिस प्रशासन सधैँ सतर्क रहेको छ ताकि सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न सकियोस्। अर्कातिर मतदानमा केन्द्रीय बलको भूमिकाबारे प्रश्न उठाएकी छन् ममता ब्यानर्जीले। ममता ब्यानर्जीले केन्द्रीय बलमाथि दुर्व्यवहारको आरोप लगाएकी छन्। तर उक्त आरोप अस्वीकार गर्दै सशस्त्र सीमा बलका जिल्ला फोर्स समन्वयक गौतम सागरले बताएका छन् कि केन्द्रीय बलले चुनाउ आयोगको निर्देशनअनुसार नै काम गरेको छ र स्थानीय पुलिस प्रशासनसित समन्वय राख्दै आफ्नो जिम्मावारी निर्वाह गरेको छ। समग्र अवस्थामाथि प्रशासनले कठोर निगरानी राखिरहेको छ ताकि मतदानपछि समयमा शान्ति र व्यवस्था कायम रहोस्। यता चुनाउ आयोगले मतदानपछि हिंसा रोक्न अनि हिंसामा संलग्नहरूविरुद्ध कठोर कानूनी व्यवस्था गर्न निर्देश जारी गरेको छ।
मतदानपछि हिंसा रोक्न सिलगढ़ी पुलिसको कठोर सन्देश
