मिरिक महाविद्यालयको सञ्चालन समिति अध्यक्षका रूपमा सञ्जित तामाङ (सञ्जीव लामा)-ले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
महाविद्यालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त अध्यक्ष तामाङलाई स्वागत गर्दै प्राचार्य प्रो. शेराप भुटियाले स्वागत सम्भाषण प्रस्तुत गरे। कार्यक्रममा महाविद्यालय परिवारका प्रतिनिधि, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
पदभार ग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष सञ्जित तामाङले मिरिक महाविद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार तथा समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। महाविद्यालयको प्रगतिमा सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए।
कार्यक्रममा महाविद्यालयको नेपाली विभागका प्रमुख डा. आनन्द छेत्रीले धन्यवाद ज्ञापन गरे। कार्यक्रमको सञ्चालन अंग्रेजी विभागकी प्राध्यापिका सुदीपा लामाले गरेकी थिइन्।
कार्यक्रमलाई थप आकर्षक बनाउन विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। पदभार ग्रहण कार्यक्रमले महाविद्यालयमा नयाँ नेतृत्वप्रति सकारात्मक वातावरण सिर्जना गरेको थियो।
