प्लुङदुङ चियाबारी क्षेत्रमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

लगातारको भारी वर्षाका कारण प्लुङदुङ चियाबारी क्षेत्रका विभिन्न स्थानमा गएको पहिरो तथा सडक अवरोधको अवस्थाबारे आज भारतीय जनता पार्टीका सुके–मानेभञ्ज्याङ मण्डल तथा जौ जोरबङलो–सुकेपोखरी पञ्चायत समितिको टोलीले स्थलगत निरीक्षण गरेको छ। पञ्चायत समितिका सभापति अञ्जु लामा, सहकारी सभापति जीवन प्रधान, पञ्चायत समिति सदस्यहरू सुशान राई, हिम्मत प्रधान र अश्विन लाकान्द्री, प्लुङदुङ ग्राम पञ्चायतका उपप्रधान नीला लेप्चा, सुके–मानेभञ्ज्याङ मण्डल अध्यक्ष नितिन तामाङ, महासचिव नयन छिरिङ लेप्चा, फुर्बा छिरिङ शेर्पा, मण्डल युवा अध्यक्ष गोविन्द राई, युवा मोर्चा सामाजिक सञ्जाल प्रभारी प्रशिल राई, सुनिल राई, शक्ति केन्द्र प्रमुख शेखर राई लगायत स्थानीय कार्यकर्ता तथा गाउँवासीहरूको उपस्थितिमा प्लुङदुङ चियाबारी, छेउ गाउँ र लेप्चा गाउँ क्षेत्रका पहिरो प्रभावित स्थानहरूको निरीक्षण गरिएको हो। निरीक्षणका क्रममा टोलीले पहिरोका कारण भएको क्षति तथा स्थानीयवासीले भोग्नुपरेका समस्याबारे प्रत्यक्ष जानकारी लिएको थियो। स्थानीयवासीहरूले लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको, सडक अवरुद्ध भएको तथा आवतजावतमा कठिनाइ उत्पन्न भएको जानकारी गराएका थिए। टोलीले प्रभावित परिवार तथा क्षेत्रलाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित विभाग तथा निकायसँग समन्वय गरी तत्काल राहत, सडक सञ्चालन तथा आवश्यक पुनर्स्थापनाका कार्यहरू अघि बढाउन पहल गर्ने जनाएको छ। विशेष अवरुद्ध सडक सम्पर्कलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमार्फत आवश्यक पहल तथा तत्काल कार्य अघि बढाइने बताइएको छ। स्थानीयवासीले पहिरो प्रभावित क्षेत्रमा शीघ्र राहत तथा सडक मर्मतको कार्य अघि बढाउन आग्रह गरेका छन्।

By Paromita