मतुवाहरूद्वारा हरिचाँद ठाकुरको नाममा कलेजको माग

हरिचाँद गुरुचाँद ठाकुरको नाममा उत्तर बङ्गालमा कलेज स्थापना गर्न मतुवाहरूले माग उठाएका छन्। साथै गोँसाई भत्ता आरम्भ गर्न पनि तिनीहरूले माग गरेका छन्। मङ्गलवार जलपाइगढ़ीमा भाजपा राज्य महासचिव बापी गोस्वामीको घरमा पुगेर मतुवाहरूले तिनलाई सम्मान गरे। त्यहाँ अखिल भारतीय मतुवा महासङ्घका सचिव नन्दलाल विश्वास उपस्थित थिए। तिनले भने, राज्यमा भाजपा सरकार आएकोमा हामी खुशी छौँ। नयाँ सरकारले मतुवाहरूका मागहरू पूरा गर्न पहल गर्ने हाम्रो आशा छ। मतुवा समुदायका तर्फबाट विजयी भएका भाजपा उम्मेद्वारहरूलाई मन्त्री परिषदमा समावेश गर्नुपर्ने सन्देश पनि बापी गोस्वामीमार्फत भाजपा शीर्ष नेतृत्वलाई पठाइएको छ। साथै हाम्रो माग छ कि उत्तर बङ्गालमा हरिचाँद गुरुचाँद ठाकुरको नाममा कलेज वा विश्वविद्यालय स्थापना गरियोस्। मतुवा समुदायभित्र गोँसाई भत्ताको माग रहेको छ। यसलाई छिट्टै कार्यान्वयन गर्न नयाँ सरकारले ध्यान दिनुपर्छ। मतुवा समुदायका धेरैले अझसम्म जमीनका कागजात प्राप्त गर्न सकेका छैनन्। यो समस्या चाँड़ै समाधान गरियोस् भन्ने माग पनि नयाँ सरकारसित राखिएको छ।
रायगञ्ज विश्वविद्यालयका इतिहासका प्राध्यापक तथा मतुवा महासङ्घका उत्तर बङ्गाल पर्यवेक्षक बाबुलाल बालाको दाबीअनुसार उत्तर र गौडबङ्ग मिलाएर 20 लाखभन्दा बढ़ी मतुवा र नमःशुद्र मतदाता छन्। तीमध्ये 90 प्रतिशतभन्दा बढ़ी मत यसपल्ट भाजपा पक्षमा परेको छ जसका कारण भाजपाको ठूलो जीत भएको हो। तिनीअनुसार मतुवा मत एकतर्फी रूपमा कमल चिन्हमा जानुको मुख्य कारण मतुवाहरूले लामो समयदेखि गर्दै आएका नागरिकता सुनिश्चित गर्नुपर्ने माग हो। केन्द्रको मोदी सरकारले यसलाई स्वीकार गरेको छ। सीएएमार्फत सबै मतुवाहरूलाई नागरिकता प्रदान गरियोस् भन्ने अहिले हाम्रो प्रमुख माग हो।
राज्यमा भाजपा सरकार आएपछि मतुवाहरूको नागरिकताको विषयमा अब कुनै समस्या नहुने आशा अखिल भारतीय मतुवा महासङ्घका सचिव नन्दलाल विश्वासले व्यक्त गरेका छन्। तिनले भने, सीएएमार्फत नागरिकताका लागि धेरै मतुवाहरूले आवेदन दिएका छन् जसमा केहीले नागरिकता पनि प्राप्त गरिसकेका छन्। यसपल्ट पश्चिम बङ्गालमा डबल इञ्जिन सरकार बन्न लागेकाले नागरिकताको विषयमा अब चिन्ता गर्ने अवस्था छैन। मतुवाहरूबाट प्राप्त सम्मानप्रति भावुक हुँदै भाजपा राज्य महासचिव बापी गोस्वामीले भने, हाम्रो सरकारको कार्यकालमा सबै जनजाति र सबै समुदायका मानिसहरूले सम्मान पाउनेछन्। मतुवाहरूलाई सन्देश दिँदै तिनले भने, तपाईँहरू हाम्रो साथमा रहनुहोस्, हामी तपाईँहरूको साथमा थियौँ र रहनेछौँ। अहिलेसम्म सनातनी समाज उपेक्षित र वञ्चित रह्यो। अब सबै समुदायका मानिसहरू हाम्रो परिवारका सदस्य हुन्। सबैलाई साथमा लिएर हामी विकास गर्नेछौँ। श्यामाप्रसाद मुखर्जीको सोनार बङ्गला साकार हुनेछ। हरिचाँद गुरुचाँद ठाकुरको आशीर्वाद लिएर हामी अगाड़ि बढ्नेछौँ। मतुवाहरूका सबै मागहरू राज्यमा भाजपा सरकार गठन भएपछि अवश्य पूरा गरिनेछ।

By Paromita