डेढ़ दशकपछि उत्तर दिनाजपुरको चोपड़ा ब्लकमा सीपीएमको पार्टी कार्यालय खोलिएको छ। मङ्गलवार भैषपिटा क्षेत्रमा रहेको उक्त पार्टी कार्यालय फेरि रातो झण्डाले सजाएर नयाँ रूपमा सञ्चालनमा ल्याइएको छ। कब्जामा रहेको आफ्नै पुरानो पार्टी कार्यालय कङ्ग्रेसले पनि पुनः प्राप्त गरेको छ। स्थानीय सूत्रअनुसार, 2008 को पञ्चायत चुनाउको बेला अशान्तिका कारण भैषपिटा क्षेत्रमा सीपीएमको उक्त कार्यालय बन्द गरिएको थियो। तत्कालीन कङ्ग्रेस नेता तथा हाल तृणमूलको टिकटबाट विजयी विधायक हमिदुल रहमानको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको आरोप छ। डेढ़ दशकसम्म धेरैपल्ट खोल्ने प्रयास भए पनि तृणमूलको अवरोधका कारण सम्भव नभएको स्थानीय सीपीएम कार्यकर्ताहरूले दाबी गरेका छन्। मङ्गलवार उक्त कार्यालय पुनः प्राप्त गरी फेरि झण्डा फहराइएको छ। यस अवसरमा क्षेत्रका सीपीएम नेता, कार्यकर्ता र समर्थकहरू उपस्थित थिए।
वरिष्ठ सीपीएम नेता सिराजुल हकले भने, लामो समयदेखि हाम्रो यो पार्टी कार्यालय बन्द थियो। विभिन्न अवरोध, धम्की र आक्रमणका कारण हामीले अहिलेसम्म कार्यालय खोल्न सकेका थिएनौँ। तर अहिले राजनीतिक अवस्था केही परिवर्तन भएको छ। त्यसैको अवसरमा हामीले फेरि कार्यालय सञ्चालनमा ल्याउन सकेका छौँ। अबदेखि यस कार्यालयबाट पार्टीका सङ्गठनात्मक गतिविधिहरू सञ्चालन गरिनेछ र नियमित बैठकहरू गरिनेछन्। तिनले भने, क्षेत्रमा भाजपाको बढ्दो प्रभाव र तृणमूलविरुद्धको असन्तोषका कारण राजनीतिक समीकरणमा परिवर्तन आएको छ। सोही सन्दर्भमा सङ्गठनलाई फेरि सक्रिय बनाउने प्रयास भइरहेको छ।
यसै दिन चोपड़ा ब्लकमा लामो समयदेखि तृणमूलको कब्जामा रहेको पुरानो कङ्ग्रेस कार्यालय पनि पार्टीका कार्यकर्ताहरूले पुनः आफ्नो नियन्त्रणमा लिएका छन्। जिल्ला कङ्ग्रेसका कार्यकारी अध्यक्ष अशोक रायले भने, केवल एउटा पार्टी कार्यालय मात्र होइन चोपड़ा ब्लकका धेरै कङ्ग्रेस कार्यालयहरू लामो समयदेखि तृणमूलले कब्जामा राखेको थियो। हामी बिस्तारै ती सबै कार्यालयहरू फिर्ता लिनेछौँ। मङ्गलवार त्यसको आरम्भ भयो।
डेढ़ दशकपछि सीपीएम पार्टी कार्यालय सञ्चालनमा
