घैयाबारी नयाँ कमानमा एचपीडब्ल्युयुद्वारा गेट मिटिङ सम्पन्न, चिया श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारसँग माग

हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्युयु) ले घैयाबारी नयाँ कमान चियाबारीमा चिया श्रमिकहरूको विभिन्न समस्यालाई केन्द्रमा राख्दै गेट मिटिङको आयोजना गरेको छ। लामो समयदेखि श्रमिकहरूले भोग्दै आएका भविष्य निधि (प्रोविडेन्ट फण्ड), ग्रेच्युटी तथा न्यूनतम रोजदारीसँग सम्बन्धित समस्याबारे आवाज उठाउँदै लोकतान्त्रिक ढंगले उक्त गेट मिटिङ सम्पन्न गरिएको हो। गेट मिटिङमा श्रमिकहरूले लामो समयदेखि आफूहरूले पाउनुपर्ने भविष्य निधि (प्रोविडेन्ट फण्ड) कोष प्राप्त गर्न नसकेको गुनासो राखेका थिए। यसका साथै, विगत चार वर्षदेखि अवकाशप्राप्त चिया श्रमिकहरूले ग्रेच्युटीको नाममा आंशिक रकम मात्र प्राप्त गरेको र अहिलेसम्म पूर्ण ग्रेच्युटी नपाएको विषयलाई समेत गम्भीर रूपमा उठाइएको थियो। एचपीडब्ल्युयुले ट्रेड युनियन ऐनअनुसार अवकाशप्राप्त श्रमिकहरूको सम्पूर्ण ग्रेच्युटी ४५ दिनभित्र उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एचपीडब्ल्युयु खर्साङ ब्राञ्च कमिटीका महासचिव कल्याण बागदासले चिया बगानका मालिक पक्षले वर्षौंदेखि श्रमिकमाथि शोषण र अन्याय गर्दै आएको आरोप लगाए। उनले अहिले सूचना तथा सञ्चार प्रविधिको युग भएकाले श्रमिकहरूलाई भ्रममा पार्ने वा झुक्याउने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारे।
उनले सरकारलाई घैयाबारी नयाँ कमानका श्रमिकहरूको समस्यामा तत्काल हस्तक्षेप गर्दै न्याय सुनिश्चित गर्न आग्रह गर्दै एचपीडब्ल्युयुले चिया श्रमिकहरूको हक, अधिकार र न्यायका लागि आफ्नो संघर्ष निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। महासचिव बागदासले वर्तमानमा केन्द्र र राज्यमा डबल इन्जिनको सरकार रहेको उल्लेख गर्दै उत्तर बंगालका सम्पूर्ण चिया श्रमिकका लागि न्यूनतम रोजदारी तत्काल लागू गर्न सरकारसँग माग गरे। उनले दार्जीलिङ चियाको अन्तर्राष्ट्रिय गरिमा जोगाइराख्न चियाबारी मालिक पक्षबाट हुँदै आएको शोषणको अन्त्य गरी सम्पूर्ण चिया श्रमिकलाई उनीहरूको संवैधानिक तथा श्रमसम्बन्धी हक–अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उक्त गेट मिटिङमा एचपीडब्ल्युयु केन्द्रीय समिति सदस्य बिरेन्द्र छेत्री र बादल राई, नयाँ कमान एचपीडब्ल्युयु सचिव मणि तामाङ, नयाँ कमानका प्रतिनिधिवर्ग तथा ठूलो संख्यामा चिया श्रमिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्ना न्यायोचित मागहरू यथाशीघ्र सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै श्रमिक हितका सवालमा एचपीडब्ल्युयुले थालेको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए।

By Paromita