गोर्खाल्याण्ड नौलो संघर्ष समितिका संयोजक बिक्रमादि राईको नेतृत्वमा ‘NO MORE GTA’ नारासहित सुरु गरिएको पैदल यात्राको दोस्रो दिन लाभा बजार आइपुगेको छ।
समितिले हिजो आइतबार गोरूबथानबाट पैदल यात्रा सुरु गरी डाँडा गाउँसम्म पुगेको थियो। आज बिहान ७ बजेदेखि डाँडा गाउँबाट दोस्रो दिनको यात्रा सुरु गरिएको थियो। यात्राका क्रममा कुवा पानी र शेर्पा गाउँ हुँदै टोली लाभा बजार आइपुगेको हो।
जीटीएको विरोध गर्दै गोर्खाल्याण्डको मागलाई अघि बढाउने उद्देश्यले सुरु गरिएको उक्त पैदल यात्रा लाभाबाट कालेबुङ हुँदै टिस्टासम्म पुग्ने बताइएको छ।
समितिका अनुसार पैदल यात्रामा सहभागीहरूले ‘NO MORE GTA’ लगायतका नारासहित गोर्खाल्याण्डको मागलाई जनतामाझ पुर्याउने अभियान अघि बढाइरहेका छन्।
