बिजनबारीमा आपराधिक घटनाविरुद्ध नागरिकको प्रतिवाद र्‍याली

गत केही दिनअघि एल नाबालिकामाथि भएको दुष्कर्मको विरोध तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै बिजनबारीमा बुधबार नागरिक समाजले प्रतिवाद र्‍याली तथा सभा सम्पन्न गरेको छ। सिटिजन फोरम बिजनबारीको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद लगभग ३०० महिला तथा पुरुषको सहभागिता रहेको थियो भने सहभागीहरूले बजार परिक्रमा गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका थिए। र्‍यालीपछि आयोजित सभामा वक्ताहरूले घटना सम्पूर्ण समाजको सुरक्षासँग जोडिएको विषय भएकाले नागरिक समाज एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए। स्थानीय यौवन गुरुङ र सिटिजन फोरमका सयोजक पुनम दर्नाललगायतले पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायले निष्पक्ष र प्रभावकारी रूपमा कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग अघि राखे। याद रहोस् घटनामा संलग्न रहेको आरोपीलाई पुलबजार पुलिसले पक्राउ गरी अदालतसमक्ष अगावै प्रस्तुत गरिसकेको र कानुनी प्रक्रिया अघि बढिरहेको जनाइएको छ।

By Paromita