गत शनिवार मध्य राति कोचबिहार जिल्लाको कोतवाली थानाअन्तर्गत पर्ने पानीग्राम क्षेत्रमा बम विस्फोट भएको खबर पाएपछि क्षेत्रमा व्यापक सनसनी फैलिएको थियो। खबर पाउन साथ पुलिस अधिकारीहरूले देवानहाट पुलिस क्याम्प र केन्द्रीय सुरक्षाब लको सहयोगमा घटनास्थलमा पुगेर जाँच आरम्भ गरे।
पुलिस सूत्रअनुसार घटनास्थलमा एउटा बम विस्फोट भएको थियो भने अर्को एउटा बम विस्फोट नभएको स्थितिमा फेला पारिएको थियो। त्यसको भोलिपल्ट अर्थात् 19 अप्रेल पानीग्राम घुघुमारीका वासिन्दा गीता महन्त नामक महिलाले कोचबिहारको कोतवाली थानामा लिखित उजुरी दर्ता गरिन्। उक्त उजुरीका आधारमा कोतवाली थानामा एक विशेष मुद्दा दर्ता गरिएको छ।
त्यसपछि यस घटनामा संलग्न भएको आरोपमा 22 वर्षीय जुम्मान राजभर नामक एक युवकलाई पक्राउ गरिएको छ। तिनलाई न्यायालयमा प्रस्तुत गरी सात दिनको पुलिस रिमाण्डको माग गरिएको छ। यसैबीच 19 अप्रेलमा पुलिस र नाशकता विरोधी टोलीको संयुक्त पहलमा चाँदमारी, चिलकिरहाट र पासारतीहाट क्षेत्रमा केन्द्रीय सुरक्षा बलको उपस्थितिमा पुनः बम खोजी अभियान सञ्चालन गरिएको छ। साथै आइतवार मध्य राति तोर्सा नदी किनार क्षेत्रबाट आरटी मोबाइल भ्यानको अभियानमा 17 वटा शङ्कास्पद बम जस्ता वस्तुहरू फेला पारिएको छ। घटनालाई केन्द्रमा राख्दै क्षेत्रमा सुरक्षा कठोर पारिएको छ र जाँच जारी रहेको छ।
चुनाउको माहोलमा बम आतङ्क! एक पक्राउ
