सिनकोना कमानका ५ हजारभन्दा बढी श्रमिकको दैनिक हाजिरामा ७४ रुपियाँ वृद्धि, अब ४०६ रुपियाँ पुग्यो

दार्जीलिङ र कालिम्पोङ जिल्लाअन्तर्गत सिनकोना कमानका १४ वटा डिभिजनमा कार्यरत ५ हजारभन्दा बढी श्रमिकहरूको दैनिक हाजिरामा ७४ रुपियाँ वृद्धि भएको छ। पश्चिम बङ्गाल सरकारले यससम्बन्धी आदेश जारी गरेपछि श्रमिकहरूको दैनिक ज्याला ३३२ रुपियाँबाट बढेर अब ४०६ रुपियाँ पुगेको छ। यस वृद्धिलाई सिनकोना कमानका श्रमिकहरूका लागि केही राहतका रूपमा हेरिएको छ।

यसैबीच, Hill Plantations Employees Union का महासचिव सुमेन्द्र तामाङले उक्त ज्याला वृद्धि Variable Dearness Allowance (VDA) अर्थात् महँगी भत्ताअनुसार वर्षमा दुईपटक ज्याला वृद्धि हुनुपर्ने प्रावधान तथा Minimum Wages Act, 1948 अन्तर्गत भएको बताएका छन्। उनले आगामी दिनमा पनि सरकारले वर्षमा दुईपटक ज्याला वृद्धि गर्ने कानुनी व्यवस्थालाई निरन्तर कार्यान्वयन गर्ने आशा व्यक्त गरेका छन्।

तामाङले सिनकोना उद्योगमा विद्यमान समस्याहरूप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। विशेषगरी ग्रुप डी कर्मचारीहरूको नयाँ नियुक्ति, उद्योगमा वैज्ञानिक अनुसन्धान तथा श्रमिकहरूको सामाजिक सुरक्षासम्बन्धी विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न उनले माग गरेका छन्। साथै, सिनकोना उद्योगलाई निजी क्षेत्रको हातमा सुम्पिनुको सट्टा सरकारी स्वामित्वमै राखेर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यसका साथै, चिया उद्योगमा विगत करिब तीन वर्षदेखि श्रमिकहरूको दैनिक हाजिरामा वृद्धि नभएको उल्लेख गर्दै तामाङले चिया श्रमिकहरूको न्यूनतम ज्याला पनि वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन्। Minimum Wages Act, 1948 तथा सर्वोच्च अदालतको सन् १९९२ को फैसलालाई आधार मान्दै स्वास्थ्य, शिक्षा, इन्धन, आवास, लत्ताकपडा तथा चाडपर्वलगायतका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर चिया श्रमिकहरूको न्यूनतम दैनिक ज्याला ६०० रुपियाँभन्दा बढी निर्धारण गरी लागू गर्न उनले सरकारसँग आग्रह गरेका छन्।

अन्त्यमा, श्रमिकहरूको हकहित र सामाजिक सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने माग गर्दै तामाङले श्रमिक एकताको सन्देशसमेत दिएका छन्।

By Paromita