प्रधानमन्त्री सूर्य घर योजनाबारे ग्रामीण क्षेत्रका नागरिकलाई जानकारी गराउने उद्देश्यले बुधबार दार्जिलिङ पुलबजार खण्डको मुख्यालय बिजनबारीमा सचेतना सेमिनार सम्पन्न भयो। भाजपा किसान मोर्चाको मुख्य आयोजनामा तथा खण्ड विकास कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा सौर्य ऊर्जाको प्रयोग, सरकारी अनुदान र योजनाका लाभबारे जानकारी गराइयो।
सेमिनारमा खण्ड पञ्चायत समितिका भाइस चेयरम्यान रिवाज गुरुङ, भाजपा जिल्ला सङ्गठनिक सचिव गोपाल बुढाथोकी, रेलिङ–कैजले मण्डल अध्यक्ष सुभन लिम्बु, किसान मोर्चाका जिल्ला सचिव निर्मल शर्मा, विद्युत् विभागका अधिकारी, सोलार कम्पनीका प्रतिनिधि तथा विभिन्न ग्राम पञ्चायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले सोलार प्यानल जडानबाट घरायसी बिजुली खर्च घटाउन र स्वच्छ ऊर्जाको प्रयोग बढाउन सकिने बताए। गोपाल बुढाथोकीले बढ्दो विद्युत् खपतलाई ध्यानमा राख्दै सरकारले सुरु गरेको यस योजनाबाट लाभ लिन पहाडी क्षेत्रका नागरिकलाई आह्वान गरे।
