रिङटाङ चिया कमानमा २० प्रतिशत बोनस वितरणको माग, HPEU को गेट मिटिङपछि १० अक्टोबरभित्र बोनस दिने म्यानेजमेन्टको नोटिस

पश्चिम बङ्गाल सरकारको आदेशअनुसार अक्टोबर ५ भित्र चिया कमानका श्रमिकहरूलाई २० प्रतिशत बोनस वितरण गरिनुपर्ने भए पनि सोनादा क्षेत्रअन्तर्गत रिङटाङ चिया कमानमा बोनस वितरण नभएपछि Hill Plantations Employees Union (HPEU) को अगुवाइमा आज गेट मिटिङ आयोजना गरिएको छ।
HPEU का अनुसार विगतका वर्षहरूमा बोनस वितरणका क्रममा श्रमिकहरूले विभिन्न समस्या भोग्दै आएका छन्। किस्ताबन्दीमा बोनस दिने प्रथाको अन्त्य गर्नुपर्ने माग संगठनले आफ्नो पहिलो वार्षिक मागपत्रमै समावेश गरेको र यस विषयमा निरन्तर पहल गर्दै आएको जनाएको छ।
म्यानेजमेन्टको तर्फबाट यसअघि बोनस वितरणबारे मौखिक आश्वासन मात्र प्राप्त भइरहेको अवस्थामा HPEU ले २० प्रतिशत बोनस तत्काल वितरण गर्नुपर्ने माग राखेपछि रिङटाङ चिया कमानका म्यानेजरले आगामी १० अक्टोबरभित्र २० प्रतिशत बोनस वितरण गर्ने नोटिस जारी गरेको HPEU ले जनाएको छ।
HPEU ले यसलाई रिङटाङ चिया कमानका श्रमिकहरूको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै बोनस वितरण नभएका अन्य चिया कमानका श्रमिकहरूलाई पनि आफ्नो हकका लागि एकजुट भएर आवाज उठाउन आह्वान गरेको छ।

By Paromita