सिक्किम विकास र वातावरण संरक्षणको नमुना

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भने कि सिक्किम विकास, सांस्कृतिक सद्भाव र वातावरण संरक्षणको सशक्त उदाहरणका रूपमा उभिएको छ। तिनले गान्तोकमा आयोजित राज्यको 50औँ राज्यत्व वर्षको समापन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। स्वर्ण जयन्ती कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिक्किमका जनतासित आफ्नो भावनात्मक सम्बन्ध, भारतको भविष्यको विकासमा उत्तरपूर्व क्षेत्रको महत्त्व तथा हिमाली राज्यमा पूर्वाधार, पर्यटन र सम्पर्क सुधारमा केन्द्रको ध्यानबारे चर्चा गरे। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ, राज्यपाल ओमप्रकाश माथुर, मन्त्रीहरू, विधायकरू, अधिकारीहरू तथा राज्यभरिका हजारौँ नागरिकहरू उपस्थित थिए। आफ्नो सम्बोधनको सुरुवातमा मोदीले राज्य नेतृत्वबाट पटक–पटक निमन्त्रणा पाउँदा पनि पहिले सिक्किम आउन नसकेको विषय उल्लेख गरे। तिनले त्यो भावना आफूले लामो समयसम्म बोकेर हिँड़ेको बताए।
प्रधानमन्त्रीले मुख्यमन्त्री प्रेम सिंह तमाङसित भएको कुराकानीलाई उल्लेख गर्दै भने, यहाँ आउन नसक्नुको पीड़ा मेरो मनमा लामो समयसम्म रह्यो। सिक्किम सरकारले बारम्बार निमन्त्रणा दिए पनि पहिले भ्रमण गर्न नसकेकोमा आफूलाई असहज लाग्ने गरेको तिनले बताए। तिनले बताएअनुसार, अन्ततः 50औँ राज्यत्व उत्सवमा सहभागी हुन पाउँदा त्यो लामो प्रतीक्षा समाप्त भएको छ। प्रधानमन्त्रीले सिक्किमका जनतालाई शान्त, आत्मीय र सरल स्वभावका रूपमा वर्णन गरे। तिनले राज्यका जनतासित भएको प्रत्येक भेटघाटले आफूलाई शान्ति र सकारात्मकताको अनुभूति दिएको बताए।
सार्वजनिक कार्यक्रममा सहभागी हुनअघि आफूले पद्म पुरस्कार प्रापक व्यक्तित्वहरू, कलाकारहरू र फूटबल खेलाड़ीहरू लगायत सिक्किमका विभिन्न व्यक्तिहरूसित भेट गरेको मोदीले बताए। तिनले संस्कृति, खेलकुद र विकाससित सम्बन्धित विभिन्न विषयमा छलफल भएको जानकारी दिए। प्रधानमन्त्रीले सोमवार साँझ गान्तोकमा आयोजित रोड शोको पनि स्मरण गर्दै त्यहाँ देखिएका दृश्यहरूले राष्ट्रिय एकताको भावना झल्काएको बताए। तिनका अनुसार, राष्ट्रिय झण्डा बोकेका तथा भारत माता की जय र वन्दे मातरम् जस्ता नाराहरू लगाउने जनसमूहले एक भारत, श्रेष्ठ भारतको भावनालाई प्रतिविम्बित गरेको थियो। तिनले विभिन्न समुदायका मानिसहरू परम्परागत पोशाकमा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भएको दृश्यले भारतको विविधता र एकताको शक्ति देखाएको बताए। रोड शो र सार्वजनिक कार्यक्रममा महिलाहरू, ज्येष्ठ नागरिकहरू र बालक-बालिकाहरूको ठूलो सहभागिताले आफू प्रभावित भएको तिनले उल्लेख गरे।
तिनले वातावरण संरक्षण र सरसफाईतर्फ राज्यले देशका लागि उदाहरण प्रस्तुत गरेको बताए। तिनले भने, सिक्किमका जनता प्रकृतिका साँचो संरक्षक र ब्राण्ड दूत हुन्। तिनले देशका विभिन्न भागका मानिसहरूलाई सिक्किम भ्रमण गर्न र यहाँको सरसफाई तथा वातावरण संरक्षणको दृष्टिकोणबाट सिक्न आग्रह गरे। प्रधानमन्त्रीले सिक्किमका जनतालाई राज्यत्वको 50औँ वर्ष पूरा गरेकोमा बधाई दिँदै राज्यको विकासमा योगदान पुर्यााउने प्रत्येक पुस्ता सम्मान र मान्यताको योग्य रहेको बताए। उत्तर पूर्वलाई भारतको अष्ट लक्ष्मी भनेर उल्लेख गर्दै प्रधानमन्त्रीले यस क्षेत्रले देशको भविष्यको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। तिनले केन्द्र सरकारले उत्तरपूर्वी राज्यहरूलाई देशको प्रमुख शक्ति मानेको र एक्ट इस्ट नीतिसितै छिटो विकासका लागि एक्ट फास्ट दृष्टिकोण पनि अघि बढ़ाइरहेको बताए। प्रधानमन्त्रीले पछिल्ला वर्षहरूमा उत्तरपूर्वी राज्यहरूमा यातायात, पर्यटन, व्यापार र आर्थिक अवसर सुधारका लागि विभिन्न पूर्वाधार तथा सम्पर्क परियोजनाहरू आरम्भ गरिएको जानकारी दिए।
कार्यक्रमका क्रममा मोदीले सिक्किमसित सम्बन्धित विभिन्न विकास परियोजनाहरूको घोषणा तथा उद्घाटन पनि गरे। तिनले पूर्वाधार, पर्यटन, सडक र अन्य विकास क्षेत्रसित सम्बन्धित हजारौँ करोड़ रुपियाँ बराबरका परियोजनाहरू अघि बढ़ाइरहेको बताए। हिमाली राज्यहरू जस्तै सिक्किममा सम्पर्क सुधार अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै तिनले राम्रो सड़क, यातायात र पर्यटन पूर्वाधारले रोजगार सिर्जना गर्न र स्थानीय समुदायको आर्थिक गतिविधि बढ़ाउन सहयोग गर्ने बताए।

By Paromita