मेडिकल कलेजमा फ्रिजर बिग्रेपछि सङ्कट

सबैजना चुनाउमा अत्यन्त व्यस्त छन्। त्यसैको प्रभाव स्वरूप उत्तर बङ्गाल मेडिकल कलेजमा चरम अव्यवस्थाको चित्र देखिएको छ। पछिल्लो चार दिनदेखि मर्गको फ्रिजर बिग्रिएको अवस्थामा छ। तर पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित संस्था मरम्मतीका लागि आएको छैन।
फ्रिजर बिग्रिएको कारण मर्गमा राखिएका शवहरू सड्न थालेका छन् र त्यसबाट निस्किएको दुर्गन्ध चारैतिर फैलिरहेको छ। स्थिति यति भयावह बनेको छ कि उत्तर बङ्गाल मेडिकल कलेजको मर्गदेखि सुपर स्पेशियालिटी ब्लकसम्म उभिनै नसकिने अवस्था सिर्जना भएको छ। दुर्गन्धबीच मृतकका परिवारका सदस्यहरू शवको पोस्टमार्टम गराएर लैजान मर्ग अगाड़ि बाध्य भएर पर्खिनु परिरहेको छ। यसले गर्दा पुलिस र स्वास्थ्यकर्मीहरू पनि निकै हैरान भएका छन्। मास्कमा सुगन्ध प्रयोग गर्दा पनि अवस्था नियन्त्रणमा ल्याउन सकिएको छैन।
मर्गका कर्मचारीहरूको दाबीअनुसार पछिल्लो चार दिनदेखि फ्रिजर बिग्रिएकोले शवहरू छिट्टै सड़िरहेका छन्। बेवारिसे शवहरूको चाप यसमा थप समस्या बनेको छ। चुनाउको व्यस्तताका कारण गत एक महीनादेखि जिल्ला प्रशासनले मर्गबाट बेवारिसे शव हटाउने व्यवस्था गरेको छैन। हाल मर्गमा 70 भन्दा अधिक शव जम्मा भएका छन्।
उत्तर बङ्गाल मेडिकल कलेजको फोरेन्सिक विभागका प्रमुख डा. राजीव प्रसादले यस समस्यालाई स्वीकार गरेका छन्। तिनले भने, पछिल्लो चार दिनदेखि फ्रिजरले काम गरिरहेको छैन। हामीले पत्र दिएका छौँ तर चुनाउको बहाना देखाउँदै सम्बन्धित एजेन्सी अझै मरम्मतीका लागि आएको छैन। यसकारण शवहरू सड़ेर स्थिति झन् जटिल बनेको छ। चुनाउको व्यस्तताका कारण प्रशासनले यस समयमा बेवारिसे शव हटाउने छैन भन्ने सोचेर हामीले गत महीना पत्र दिएका थिएनौँ। पहिलो चरणको मतदान सकिएपछि पुनः जिल्ला प्रशासनलाई जानकारी गराइएको छ। तिनले थप भने, तुरुन्तै फ्रिजर मरम्मती नगरे आगामी दिन यहाँ काम गर्न असम्भव हुनेछ। यस विषयमा स्वास्थ्य भवनलाई पनि जानकारी दिइएको छ। अब हामी प्रशासनको कदमतर्फ हेरिरहेका छौँ।

By Paromita