फालाकाटा सुपर स्पेशियालिटी अस्पतालको अपरेशन थिएटरबाट सर्प उद्धार भएको घटनाले अस्पताल परिसरमा सनसनी फैलियो। ओटीमा कालो रङ्गको एउटा सर्प देखिएपछि शल्य चिकित्सक, नर्स लगायत अन्य स्वास्थ्यकर्मीहरूबीच आतङ्क फैलियो। घटनापछि स्थानीय सर्प उद्धारकर्ता शङ्कर साहा चौधुरी र तिनको टोलीलाई खबर गरियो। तिनी तत्काल घटनास्थलमा आएर अस्पतालको एप्रन लगाई ओटी कोठामा गएर सर्पलाई उद्धार गरी बाहिर ल्याए।
शङ्कर साहाले बताएअनुसार, उद्धार गरिएको सर्प एउटा धामन (दाँड़ाश) प्रजातिको भए पनि सानो थियो। सम्भवतः पाइप हुँदै माथि चढ़ेर तेस्रो तल्लाको प्रसुति विभागको ओटी कोठासम्म पुगेको थियो। लगभग चार फिट लामो उक्त सर्पलाई उद्धार गरी कुञ्जनगर जङ्गलमा छोड़िएको छ।
तर अस्पतालका सुपरिण्टेण्डेण्ट डा. शुभाशीष शीले उक्त विषय स्वीकार गर्न चाहेनन्। सर्प ओटी कोठाबाट नभएर अस्पताल बाहिरको एउटा फोहोर राख्ने कोठाबाट उद्धार गरिएको तिनल ठोकुवा गरेका छन्।
यस घटनापछि अस्पतालको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ। उपचारका लागि आएका बिरामीहरूको भनाइमा, यदि त्यतिबेला ओटीमा अपरेशन चलिरहेको भए गम्भीर दुर्घटना हुन सक्थ्यो। चिकित्सक वा स्वास्थ्यकर्मीहरू डराएमा बिरामी जोखिममा पर्न सक्थे। आगामी दिनमा यस्ता घटना नदोहरियोस् भन्नेमा सबैले ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ छ। सर्प स्ट्रेचरको खुट्टामा बेरेर बसेको अवस्थामा भेटिएको थियो। त्यसैले स्वास्थ्यकर्मीहरूको अनुमान अनुसार, स्ट्रेचरको खुट्टामा बेरिएको अवस्थामै सर्प तेस्रो तलासम्म पुगेको हुन सक्छ। यसैले अबदेखि स्ट्रेचर तान्ने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने उनीहरूको धारणा छ।
