रात पर्न साथ अर्को नै शहर जस्तै देखिन्छ। अँध्यारोको आड़मा चुपचाप कब्जा जमाउँदैछ एउटा अदृश्य सेना त्यो हो मुसा। त्यही मुसाको त्रासले अहिले धूपगुड़ीका वासिन्दाहरू दिशाहीन बनेका छन्। गल्लीदेखि बजारसम्म, सरकारी कार्यालयका टेबलदेखि आलमारीसम्म कतै पनि छुटकारा छैन। आँखाबाट ओझेल हुन साथ ताण्डव आरम्भ हुन्छ। महत्त्वपूर्ण कागजात काटेर च्यातिदिन्छ, पसलका सामान नष्ट गरिदिन्छ, यहाँसम्म कि कार्यालयका खाना पनि सुरक्षित छैन। शहरवासीअनुसार, यस्तो आतङ्क पहिले कहिल्यै देखिएको थिएन।
हालै धूपगुड़ीको बीडीओ कार्यालयमा भएको एक घटनाले यस त्रासलाई अझ बढ़ाएको छ। एक अधिकारीको अति महत्त्वपूर्ण कागजात मुसाको समूहले क्षणभरमै काटेर नष्ट गरिदियो। कार्यालयका कर्मचारीहरूअनुसार, अब कागजपत्र टेबलमा राख्नै सकिन्न। आलमारीभित्र राख्दा पनि भरोसा छैन। कीटनाशक प्रयोग गर्दा पनि खासै प्रभाव देखिएको छैन। त्यस्तै अवस्था धूपगुड़ी पुलिस थानामा पनि देखिएको छ। राति फाइल राखेर बिहान आउँदा कागज काटेर ध्वस्त पाइन्छ। एक कर्मचारीअनुसार कहिले कताबाट आएर उपद्र गर्छन् भन्ने थाहा नै हुँदैन।
अहिले सबै कुरा जोगाउन सङ्घर्ष गर्नु परिरहेको छ। व्यवसायीहरूको अवस्था अझ दयनीय छ। लुगा व्यवसायी रतन सरकारले भने, पसल खोल्दा प्रत्येक दिन नयाँ नयाँ नोक्सानको हिसाब गर्नुपर्छ। केही महीनाअघि यस्तो थिएन। अहिले अचानक मुसाको उपद्रव यति बढ़ेको छ कि सम्हाल्नै गाह्रो भइरहेको छ। छेउको पसल मालिक सुजीत पालले भने, जतिसुकै सावधानी अपनाए पनि मुसाले केही न केही काटिदिन्छ। धेरैजसो अवस्थामा क्षति कहाँबाट भइरहेको छ भन्ने पनि थाहा हुँदैन। शहरका केही वासिन्दाहरूले यस अवस्थाका लागि फोहोर वातावरण र निकास प्रणालीको समस्यालाई जिम्मेवार ठहर गरेका छन्। स्थानीय वासिन्दा श्यामल दासले भने, नाली सफा हुँदैन, फोहोर जम्मा भएर बस्छ। यसकारण मुसाको सङ्ख्या बढ़िरहेको छ। गृहिणी मिता रायले भनिन्, राति सुत्न पनि डर लाग्न थालेको छ। मच्छरदानीभित्र समेत मुसा पस्छन्। दिन प्रतिदिन बढ्दो मुसाको उपद्रवले अहिले धूपगुड़ीमा एउटै प्रश्न घुमिरहेको छ कहिले पाइएला राहत? धूपगुड़ी नगरपालिकाका पूर्व प्रशासनिक बोर्डका उपाध्यक्ष राजेश कुमार सिंहले भने, यस विषयलाई गम्भीर रूपमा लिइएको छ। कृषि विभागसित कुराकानी गरेर आवश्यक कदम चालिनेछ।
धूपगुड़ीमा मुसाको आतङ्क
