मतदान प्रचारको अन्तिम चरणमा पहाड़को भविष्यबारे केन्द्रीय गृहमन्त्री अमित शाहले विभिन्न घोषणा गरेका छन्। मङ्गलवार सिलगढ़ीनजिक सुकना हाई स्कूल मैदानमा आयोजित जनसभाबाट गोर्खा समुदायको दीर्घकालीन वञ्चना, राजनीतिक माग र पहाड़को भविष्यबारे शाही प्रतिबद्धता व्यक्त गरियो। अमित शाहको भाषणको मुख्य विषय एउटै थियो भाजपा सत्तामा आउनु भनेको पहाड़को दीर्घकालीन समस्याहरूको समाधान र गोर्खाहरूको हराएको गौरव पुनर्स्थापना हुनु हो। भाषणको एक अंशमा शाहले भने, भाजपा ठूलो दाजुका रूपमा गोर्खाहरूको साथमा रहनेछ।
आजको जनसभामा दार्जीलिङका सांसद राजु विष्ट, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, जीएनएलएफ अध्यक्ष मन घिसिङ लगायत पहाड़का दुई आसनका उम्मेद्वार नोमन राई र सोनम लामा उपस्थित थिए। भाषणको आरम्भमै अमित शाहले गोर्खा समुदायको देश प्रेमलाई सम्मान गर्दै भने, गोर्खाहरू भारतको गर्व हुन्। देशको सीमाको रक्षा गर्न गोर्खा जवानहरूले भन्दा बढ़ी बलिदान कसैले दिएको छैन। तर दुःखको कुरो स्वतन्त्रतापछि आजसम्म यस वीर जातिलाई केवल राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको छ। पहिले कङ्ग्रेस, त्यसपछि वाम मोर्चा र अहिले तृणमूल सबैले गोर्खाहरूसित विश्वासघात गरेका छन्। तर नरेन्द्र मोदीजीको नेतृत्वमा भाजपा गोर्खाहरूका लागि केवल प्रतिबद्धता होइन काम गरेर देखाउनेछ। गोर्खाहरूको मुख्य माग अर्थात् पहाड़ समस्याको स्थायी समाधानको विषय शाहको भाषणमा बारम्बार उठ्यो। तिनले भने, मलाई थाहा छ पहाड़का मानिसहरूको मनमा लामो समयदेखि आक्रोश छ। भाजपा प्रतिबद्धता गर्छ भने पूरा गर्छ। हामीले चुनाउ घोषणापत्रमा गोर्खा समस्याको स्थायी राजनीतिक समाधान गर्ने भनेका छौँ। म आज यस पवित्र भूमिबाट घोषणा गर्दछु कि बङ्गालमा भाजपा सरकार बनेको 6 महीनाभित्रै संविधानको संरचनाभित्र रहेर गोर्खाहरूका सबै माग र अधिकार सुरक्षित गर्न हामी छिटो कदम चाल्नेछौँ।
केन्द्र सरकारले यस विषयमा धेरै काम अगाड़ि बढ़ाइसकेको तिनले थप जानकारी दिए। तिनले भने, एकजना सक्षम मध्यस्थकर्ता वा इण्टरलोक्युटर नियुक्त गरिएको छ। वार्ताको टेबल तयार छ। शाहले प्रत्यक्ष रूपमा ममता ब्यानर्जीमाथि आक्रमण गर्दै भने, केन्द्र सरकारले जब-जब गोर्खाहरूका लागि वार्ताको ढोका खोल्यो दिदीले त्यसमा अवरोध गरिन्। तीनपल्ट बैठक बोलाइएको थियो। तिनले कहिल्यै त्रिपक्षीय बैठकमा भाग लिइनन् र पहाड़का प्रतिनिधिहरूलाई आउन पनि रोक लगाइन्। पहाड़मा शान्ति फर्कियोस् र गोर्खाहरूले आफ्नो अधिकार पाओस् भन्ने तिनी चाहन्नन्। अब भाजपा सत्तामा आएपछि हामी समाधान गर्नेछौँ। ममताबिना समाधान कसरी गर्ने भन्ने हामीलाई थाहा छ।
पहाड़को उथलपुथल राजनीतिक आन्दोलनको स्मृति ताजा गर्दै शाहले भावनात्मक घोषणा गरे। तिनले भने, 2017 को आन्दोलन वा त्यसपछि तृणमूल सरकारले गोर्खा दाजु-भाइ तथा दिदी-बहिनीमाथि अमानवीय अत्याचार गरेको थियो। असङ्ख्य युवा र नेताहरूविरुद्ध हजारौँ झुटा मुद्दा दर्ता गरिएका छन्। त्यसकारण तिनीहरू आज घरबारविहीन छन्। धेरैलाई जेलमा बस्न बाध्य पारिएको छ। म वाचा गर्छु भाजपा सरकार बनेपछि 31 जुलाईभित्र यस्ता सबै राजनीतिक प्रेरित झुटा मुद्दाहरू फिर्ता लिइनेछन्। अब कुनै पनि गोर्खा सन्तानलाई पुलिसको डरले जङ्गलमा लुक्नु पर्दैन। सबैले सम्मानका साथ आफ्नै घर फर्कनेछन् र गर्वका साथ राजनीति गर्नेछन्।
उत्तर बङ्गालको अर्थतन्त्रको मेरुदण्ड मानिने चिया मजदुरहरूबारे पनि तिनले लामो भाषण गरे। दिदीले वर्षौंसम्म चिया मजदुरहरूप्रति चरम बेवास्ता गरेकी तिनले आरोप लगाए। शाहले प्रतिबद्धता जनाउँदै भने, भाजपा सरकार सत्तामा आएपछि चिया मजदुरहरूको दैनिक ज्याला 350 रुपियाँबाट बढ़ाएर 500 रुपियाँ बनाइनेछ। प्रत्येक मजदुर परिवारले आफ्नो घर र जमीनको पट्टा पाउने सुनिश्चित गरिनेछ।
गोर्खाहरूको अधिकार संरक्षणमा मोदी सरकार प्रतिबद्ध
