आज दार्जीलिङ–पुलबजारका दुर्गम बूथतर्फ मतदान कर्मचारी प्रस्थान

जङ्गलले घेरिएको पहाड़ी बाटो हुँदै पुग्न पर्ने दुर्गम स्थान। त्यगाँ वाहन पनि पुग्दैन। त्यसैले मतदानको दुई दिनअघि आज मङ्गलवार दार्जीलिङ–पुलबजार ब्लकको एक बूथतर्फ मतदान कर्मचारीहरू प्रस्थान गर्नेछन्। अर्कतिर दार्जीलिङ जिल्लाको पहाड़ र तराई क्षेत्रमा लगभग 150 महिला–सञ्चालित मतदान केन्द्र रहनेछन्। तीमध्ये केही बुथलाई सजाउने योजना निर्वाचन आयोगले लिएको छ। दार्जीलिङका जिल्ला अधिकारी हरिशङ्कर पनिक्करले भने, पहिले यहाँ चारवटा दुर्गम बुथ थिए। यसपल्ट त्यो सङ्ख्या घटेर एउटा मात्र भएको छ। आयोगको निर्देशनअनुसार मतदानको दुई दिनअघि नै मतदान कर्मचारीहरू प्रस्थान गरिरहेका छन्। जिल्लामा महिला–सञ्चालित बुथहरू सजाउने तयारी आरम्भ भइसकेको छ।
भौगोलिक अवस्थाका दृष्टिले राज्यको महत्त्वपूर्ण जिल्लामध्ये एक दार्जीलिङ हो। पहाड़ र समथत भूभाग मिलेर बनेको यस जिल्लामा अहिले दुर्गम बुथको सङ्ख्या एउटा मात्र छ। उक्त बुथसम्म सहज रूपमा पुग्ने बाटो छैन। त्यसैले आज दार्जीलिङ शहरस्थित वितरण तथा ग्रहण केन्द्रबाट उक्त दुर्गम बुथतर्फ मतदान कर्मचारीहरू प्रस्थान गर्नेछन्। प्रशासन सूत्रअनुसार दार्जीलिङ विधानसभा क्षेत्रअन्तर्गत दार्जीलिङ–पुलबजार ब्लकमा उक्त बुथ रहेको छ जुन वन क्षेत्रमा पर्छ। सामनदेन फरेष्ट प्राथमिक विद्यालयको त्यो बुथ नम्बर 4 हो जहाँ मतदान केन्द्र स्थापना गरिनेछ। त्यहाँ सिधै पुग्न सम्भव छैन किनभने लगभग सात किलोमिटर ढुङ्गामय बाटो छ जहाँ वाहन चल्न सक्दैन। उक्त बाटो पैदल हिँड़ेर पार गर्नुपर्नेछ।
दार्जीलिङ जिल्ला प्रशासनका एक अधिकारीअनुसार बुथ दुर्गम भएकाले मङ्गलवार सुरक्षा कर्मीसहित मतदान कर्मचारीहरू त्यहाँ बुथतर्फ प्रस्थान गर्नेछन्। दार्जीलिङ शहरबाट तिनीहरू गाड़ीमा राम्मामसम्म जानेछन्। त्यहाँ एक माध्यमिक शिक्षा केन्द्रमा रात बिताउनेछन्। बुधवार बिहान त्यहाँबाट सात किलोमिटर पैदल हिँड़ेर तिनीहरू बुथमा पुग्नेछन्। सम्बन्धित बुथमा लगभग 200 जना मतदाता रहेका छन्। मतदान प्रक्रिया सहज रूपमा सम्पन्न गर्नका लागि यस्तो व्यवस्था गरिएको हो। अर्कातिर जिल्लाका महिला–सञ्चालित मतदान केन्द्रहरूमा प्रिसाइडिङ अफिसरदेखि तीनजना मतदान कर्मचारीसम्म सबै महिला हुनेछन्। ती बुथहरूलाई गुलाबी बेलुन र विभिन्न कार्टुन पात्रहरूको कटआउटले सजाउने योजना बनाइएको छ। प्रशासन सूत्रअनुसार सिलगढ़ीमा यस्ता 85 वटा महिला–सञ्चालित बुथ छन्। यसबाहेक मतिगढ़ा–नक्सलबारीमा 26 वटा, फाँसीदेवा क्षेत्रमा 6 वटा र खरसाङमा 24 वटा बुथ रहनेछन्।

By Paromita