मतदानको ठीकअघि एकपछि अर्को गर्दै नेता–कार्यकर्तालाई पक्राउ गरिन सक्ने आशङ्का व्यक्त गरिएको छ। पहिलो चरणको मतदानको ठीक दुई दिनअघि यस विषयमा कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गर्दै तृणमूल कङ्ग्रेसले यो चिन्ता व्यक्त गरेको हो। सामान्य कार्यकर्ताहरू मात्र होइन उक्त सूचीमा प्रभावशाली नेता–कार्यकर्ताहरूको पनि नाम रहेको तृणमूलको दाबी छ। यस विषयमा सुरक्षा माग्दै तृणमूल उच्च न्यायालयको शरणमा पुगेको छ। यसैबीच सोमवार आफू र परेश अधिकारीलाई पक्राउ गर्न सक्ने आशङ्का व्यक्त गरेका छन् तृणमूल नेता तथा दिनाहाटा केन्द्रका उम्मेद्वार उदयन गुहाले।
आज उदयन दिनाहाटा महकुमा प्रशासकसमक्ष पुगे। त्यहाँ तिनले आरोप लगाए कि दिनाहाटा भिलेज 2 ग्राम पञ्चायत क्षेत्रमा घर–घरमा अन्नपूर्णा परियोजनाको फारम भराइँदैछ जुन पूर्ण रूपले निर्वाचन आचारसंहिताको विपरीत छ। साथै तिनले बताए कि कोचबिहारमा तृणमूलका दुई उम्मेद्वारलाई पक्राउ गर्नसक्ने सम्भावना छ। तीमध्ये एक मेखलीगञ्जका तृणमूल उम्मेद्वार परेश अधिकारी र अर्को दिनाहाटाका उम्मेद्वार तिनी स्वयं हुन्। तिनीहरू मतदानको दिन बाहिर ननिस्कन सकोस्, कार्यकर्तासित भेटघाट गर्न नसकोस्, विभिन्न क्षेत्रमा घुमफिर गर्न नसकोस् भन्ने उद्देश्यले यस्तो कदम चालिन सक्ने आशङ्का तिनले व्यक्त गरे। योजनाबद्ध रूपमा निर्वाचन आयोगले यसरी नै बङ्गालमा निर्वाचन सञ्चालन गर्ने प्रयास गरिरहेको उदयनले थप आरोप लगाए। यदि यसो गरिए सर्वसाधारणले मतदान मसिनमार्फत नै स्पष्ट विरोध जनाउनुपर्ने तिनले आग्रह गरेका छन्।
पक्राउको आशङ्कामा उदयन उच्च न्यायालयको शऱणमा
