खरसाङको सड़कमा घुमिरहेको ब्ल्याक प्यान्थरको भिडियो सोशियल मीडियामा भाइरल भएपछि वन विभागले सर्वसाधारणलाई सचेत गराएको छ। शनिवार राति खरसाङको नयाँ बजार क्षेत्रमा माधन तामाङको गाड़ीअघि अचानक एउटा ब्ल्याक प्यान्थर आएको थियो। तिनले आफ्नै मोबाइल फोनबाट उक्त जानवरको भिडियो खिचेर फेसबूकमा पोस्ट गरेका थिए। त्यो भिडियो शीघ्र फैलियो र वन विभागको नजरमा आयो। भिडियो पुरानो नभएको खरसाङका डीएफओ देवेश पाण्डेले स्पष्ट पारेका छन्।
जसरी पैदलयात्रीहरूको नजरमा परिरहेको छ त्यसै गरी वन विभागले जड़ान गरेको ट्र्याप क्यामेरामा पनि बेला बेला ब्ल्याक प्यान्थर कैद भइरहेको छ। त्यसैले अन्य वन्यजन्तुहरू जस्तै ब्ल्याक प्यान्थरको सङ्ख्या बढ़िरहेको हुन सक्ने वन विभागको अनुमान छ। वन्यजन्तुको सङ्ख्या बढ्नु राम्रो खबर भए पनि वन छेउछाउका सड़कहरूमा बारम्बार जनावर देखिनु चिन्ताको विषय बनेको छ। यसकारण वन विभागले सर्वसाधारणलाई सचेत रहने सुझाउ दिएको छ। वन क्षेत्रनजिक सड़कहरूमा आवतजावत गर्दा सावधानी अपनाउन र सड़कनजिक फोहोर तथा प्लास्टिक नफाल्न वन अधिकारीहरूले आग्रह गरेका छन्। वन विभागका तर्फबाट निगरानी पनि बढ़ाइएको छ।
सन् 2025 मा चिम्नी–बाघगौड़ा जाने बाटोमा एक यात्रीले ब्ल्याक प्यान्थरको तस्वीर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेका थिए। हालै बाघगौड़ा रेञ्जअन्तर्गत क्षेत्रमा एक होमस्टेभित्र खाना खोज्दै एउटा चितुवा पसेको थियो। साथै बाघगोड़ा क्षेत्रमा ब्ल्याक प्यान्थर देखिएको विवरण पनि प्राप्त भएको छ। त्यसैले पर्यटन मौसममा पर्यटकहरू तथा सर्वसाधारणलाई थप सतर्क भएर हिँड़डुल गर्न वन विभागले सुझाउ दिएको छ। नयाँ बजारको घटनापछि वनकर्मीहरूको गस्ती बढञाउन निर्देशन दिइएको छ। सर्वसाधारणसितै वाहन चालकहरूलाई पनि सचेत गरिँदैछ। अनुसूची 1 मा सूचीकृत यस वन्यजन्तुलाई कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले वन विभागले सतर्कतामूलक कदम चालेको छ।
सड़कमा ब्ल्याक प्यान्थर! वन विभागद्वारा सतर्कता जारी
