कोचबिहार एमजेएन मेडिकल कलेज तथा अस्पताल परिसरमा अबदेखि एम्बुलेन्स राख्दा प्रति घण्टा 20 रुपियाँका दरले शुल्क तिर्नुपर्ने निर्णय गरिएको छ। बुधवार उक्त मेडिकल कलेजको रोगी कल्याण समितिको बैठकमा यस्तै निर्णय लिइएको छ। यस विषयबारे निजी एम्बुलेन्स चालक तथा मालिकहरूमा असन्तोष देखिएको छ। तिनीहरूले यस निर्णयको विरोध गरेका छन्। कोचबिहार जिल्ला निजी एम्बुलेन्स चालक युनियनका अध्यक्ष अजिजुल रहमानले भने, कुनै पनि अस्पतालमा एम्बुलेन्स राख्दा शुल्क लिने प्रचलन हुँदैन। यहाँ शुल्क लिइए त्यसको भार बिरामीहरूमाथि नै पर्न जान्छ।
कलेज सूत्रअनुसार, अस्पतालभित्र केही एम्बुलेन्स चालकहरूले अनौपचारिक पार्किङ क्षेत्र बनाएका थिए जसको कारण समस्या उत्पन्न भइरहेको थियो। त्यसैले यस्तो निर्णय लिइएको हो। उक्त दिन रोगी कल्याण समितिको बैठकमा अस्पतालको सुरक्षा व्यवस्थाबारे पनि छलफल गरिएको थियो। साथै पिउने पानीको आपूर्ति अझ बढ़ाउने विषयमा निर्णय गरिएको छ। आवश्यक केही नयाँ मेसिन खरीद गर्ने विषयबारे पनि बैठकमा छलफल भयो।
एमजेएन मेडिकलका प्राचार्य निर्मलकुमार मण्डलले भने, आय बढ़ाउन एम्बुलेन्सबाट शुल्क लिने निर्णय गरिएको हो। उक्त बैठकमा रोगी कल्याण समितिका सदस्य अभिजीत दे भौमिक, मेडिकलका एमएसभीपी सौरदीप राय लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।
एम्बुलेन्सलाई प्रति घण्टा 20 रुपियाँको शुल्क
