धेरै मात्रामा प्रतिबन्धित कफ सिरपसहित एक व्यक्तिलाई प्रधाननगर थाना पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रअनुसार पक्राउ परेका व्यक्तिको नाम नरेश कामती (47) हो। तिनी सिलगढ़ीको कुल्लीपाड़ा क्षेत्रका वासिन्दा हुन्।
प्राप्त जानकारीअनुसार बुधवार राति चम्पासरीको स्टेट गेष्ट हाउसअघि पुलिसले विशेष नाका चेकिङ गरिरहेको थियो। त्यो समय नरेश एउटा स्कूटीमा सवार भई शङ्कास्पद रूपमा गइरहेका थिए। तिनको खुट्टाको छेउमा राखिएको एउटा कार्टून देखेर पुलिसलाई शङ्का लाग्यो। ड्युटीमा रहेको पुलिसले स्कूटी रोकेर जाँच गर्दा उक्त कार्टूनमा धेरै मात्रामा प्रतिबन्धित कफ सिरपका बोतलहरू फेला परे।
फेला पारिएको कफ सिरपको कुनै वैध कागजात वा प्रेस्क्रिप्शन नरेशले देखाउन सकेनन्। त्यसपछि पुलिसले तिनलाई प्रतिबन्धित लागू औषधी तस्करीको आरोपमा पक्राउ गर्यो र स्कूटी पनि जफत गरियो। प्रारम्भिक जाँचमा नशाको सामग्रीको रूपमा बिक्री गर्ने उद्देश्यले यति धेरै मात्रामा सिरप लगिएको पुलिसको अनुमान छ। यसका पछाड़ि कुनै ठूलो गिरोह संलग्न छ कि छैन भनेर पनि जाँच भइरहेको छ। पक्राउ परेका नरेशलाई बिहीवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको पुलिस सूत्रले जनाएको छ।
कफ सिरपसहित एक व्यक्ति पक्राउ
