पहाड़मा फेरि तृणमूल कङ्ग्रेसले आफ्नो स्थिति दह्रो गर्न प्रयास गरेको छ। उत्तर बङ्गालको राजनीतिमा ठूलो आश्चर्य सिर्जना गर्दै भारतीय जनता पार्टी त्यागेर खरसाङका भाजपा विधायक विष्णुप्रसाद शर्मा (बी पी बजगाईँ) तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। बिहीवार तृणमूल भवनमा आयोजित एक कार्यक्रममा राज्यका दुई मन्त्री ब्रात्य बसु र शशी पाँजाको उपस्थितिमा तिनलाई तृणमूल पार्टीको झण्डा प्रदान गरियो।
2021 को विधानसभा चुनाउमा पहाड़का तीनवटै आसन तृणमूलले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई छोड़िदिएको थियो। ती तीन आसनमध्ये केवल एक आसनमा मात्र भागोप्रमोको विजय भएको थियो। तर लोकसभा चुनाउपछि भने पहाड़को राजनीतिक समीकरण परिवर्तन हुन थालेको देखिन्छ। बी पी बजगाईँ लामो समयदेखि अलग उत्तर बङ्गाल वा केन्द्र शासित क्षेत्रको माग गर्दै आइरहेका थिए जसका कारण बेला बेलामा भाजपा केन्द्रीय नेतृत्वसित तिनको मतभेद उत्पन्न भयो।
अर्कातिर बी पी बजगाईँको पार्टी परिवर्तनलाई महत्त्व दिन भाजपा नेतृत्व इच्छुक देखिएको छैन। राज्य भाजपाको एक वर्गको दाबी अनुसार तिनले व्यक्तिगत स्वार्थका लागि यस्तो निर्णय लिएका हुन्। तर खरसाङजस्तो महत्त्वपूर्ण आसनका विधायक बाहिरिनु उत्तर बङ्गालमा भाजपाको सङ्गठनका लागि ठूलो झट्का भएको राजनीतिक विश्लेषकहरू मान्छन्। यस पार्टी परिवर्तनका कारण विधानसभामा भाजपाका विधायक सङ्ख्या अझ घटेको छ अनि 2026 को चुनाउअघि उत्तर बङ्गालमा तृणमूलको पक्षमा थप अनुकूल वातावरण बनेको मानिएको छ। सधैँ गोर्खाल्याण्डका समर्थक बी पी बजगाईँले भने, म किटान गरेर भन्छु भाजपाले गोर्खा जातिलाई केही दिँदैन। धागोको सुता पनि दिँदैन। सत्र वर्षदेखि गोर्खालीहरू अन्धकारमा छन्। आफ्ना नजिकका व्यक्तिहरूसित भन्थे भाजपाले तिनलाई धोका दिएको छ। अलग गोर्खाल्याण्डको प्रतिबद्धता पार्टीबाट आफूलाई दिइएको भनेर विधायकले दाबी गर्दै आइरहेका थिए। सूत्रअनुसार पछिल्लो एक वर्षदेखि विधानसभामा भाजपा संसदीय दलको कोठामा बी पी बजगाईँ प्रवेश गर्दैनथे। विधानसभा अधिवेशनमा भने तिनी भाजपा संसदीय दलसितै बस्थे। तर कुनै पनि कार्यक्रममा सहभागी हुँदैन थिए। पार्टीमै रहे पनि तिनी एक प्रकारले पार्टीबाट अलग्गिएका थिए। राज्यमा विधानसभा चुनाव नजिकिँदै छ। त्यसअघि तृणमूल कङ्ग्रेसले फेरि भाजपा शिविरमा विभाजन ल्याएको छ। बी पी बजगाईँको तृणमूल पार्टीमा प्रवेशको समयलाई महत्त्वपूर्ण मानिएको छ।
भाजपा विधायक बी पी बजगाईँ तृणमूलमा सामेल
