डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा उम्मेदवार बन्ने प्रतिस्पर्धामा भाजपा विभिन्न गुटमा विभाजित भएको छ। राजवंशी अनुहारलाई उम्मेदवार बनाउने माग गर्दै क्षेत्रमा हृदय भाजपा लेखिएको ब्यानरमा थुप्रै पोष्टर टाँसिएका छन्। यसले भाजपाभित्र रहेको गुटबन्दीलाई सार्वजनिक बनाएको छ। पार्टीको यस आन्तरिक विवादका कारण वर्तमान विधायक शिखा च्याटर्जी दबाउमा परेकी छन्। स्थिति नियन्त्रण गर्न तिनले पोष्टरको यस घटनालाई तृणमूलको षड़यन्त्र बताएकी छन्। यसअघि तृणमूलका मन्त्री गौतम देवलाई ठूलो मत अन्तरले पराजित गरेकी शिखा च्याटर्जी पछिल्ला पाँच वर्षमा गरेकी कार्य र जनसम्पर्कबारे विपक्षीहरूको प्रचारले दबाउमा छन्। क्षेत्रका जनतामाझ पनि भाजपा विधायकको भूमिकाबारे धेरै ठाउँमा असन्तोष देखिएको छ। यस पृष्ठभूमिमा उम्मेदवार परिवर्तनको सम्भावना रहेको हुनाले पछिल्ला केही महीनादेखि भाजपाका विभिन्न नेता–कार्यकर्ताहरू सेवामूलक कार्यमार्फत क्षेत्रमा जनसम्पर्क बढ़ाउन थालेका छन्। यद्यपि शिखा च्याटर्जीले यसलाई सार्वजनिक रूपमा महत्त्व दिएकी थिइनन्। तर राजवंशी उम्मेदवारको माग गर्दै पोष्टर टाँसिएपछि तिनी अब चुप लागेर बस्न सकिनन्। त्यसैले केही स्थायीन पार्टी नेता–कार्यकर्तासित लागेर घर–घरमा जनसम्पर्क अभियान आरम्भ गरेकी छन्। तिनी पार्टीको प्रतीक प्रयोग गरेर भित्ते लेखन पनि गरिरहेकी छन्।
शिखा च्याटर्जीले पोष्टरको घटनालाई तृणमूलको षड़यन्त्र बताए पनि भाजपाका एक स्थानीय वरिष्ठ नेताले भने, यसपल्ट हाम्रो पार्टीमा टिकटका दाबेदार धेरै छन्। राजवंशी उम्मेदवारका रूपमा क्षेत्रका वरिष्ठ भाजपा नेता सुपेन रायले यसरी आफ्नो दाबी बलियो बनाउन प्रयास गरेका हुन सक्छन्। हाल तिनी डाबग्राम–2 पञ्चायतका उपप्रमुख हुन्। यद्यपि सुपेन बाबुले भने, म त्यस पोष्टरसित सम्बन्धित छुइनँ। उम्मेदवार को हुने भन्ने विषय पार्टीले नै तय गर्नेछ। हाम्रो चाहना वा रोजाइको कुनै महत्त्व हुँदैन। उम्मेदवार बन्ने विषयमा शिखा च्याटर्जीले पनि यही कुरा बताइन्। तर तिनको अचानक जनसम्पर्क र भित्ते लेखन अभियानबारे पार्टीभित्रै प्रश्न उठ्न थालेको छ। टिकटको प्रतिस्पर्धा कठिन हुने बुझेर नै शिखा च्याटर्जीले यो अभियान आरम्भ गरेकी हुन् अनि यो पार्टीमाथि अप्रत्यक्ष दबाउ सिर्जना गर्ने रणनीति हो भनेर कमल शिविरका धेरैले अनुमान गरेका छन्। यद्यपि शिखा च्याटर्जीले भनिन्, म पार्टीको अनुशासित सैनिकका रूपमा यो कार्य गरिरहेकी छु। यो सबैले गर्न सक्छन्। टिकट पाउनका लागि गरिरहेकी होइन।
यसैबीच पोष्टर घटनामा भाजपा विधायकको आरोपलाई तृणमूलले खारेज गरेको छ। डाबग्राम–फूलबारी ब्लक तृणमूल अध्यक्ष दिलीप रायले भने, मानिसहरू भाजपाबाट टाढिँदै गइरहेका छन्। राज्य सरकारको विकासका विषयमा तृणमूलको प्रचारमा व्यापक भीड़ देखिएको छ। यो देखेर भाजपाले यसपल्ट हार निश्चित भएको बुझिसकेको छ। त्यसैले जनताको सहानुभूति लिन तृणमूलविरुद्ध झुटो आरोप लगाएर पार्टीको आन्तरिक विवाद लुकाउने प्रयास गरिरहेको छ। तर भाजपाका नेता–कार्यकर्ताहरूले पनि उम्मेदवार बन्ने विषयमा पार्टीभित्र विवाद चलिरहेको जान्दछन्।
राजवंशी उम्मेदवारको मागमा पोष्टर
