महिला पुलिसकर्मीको झुण्डिएको अवस्थामा शव उद्धार

महिला कन्स्टेबलको रहस्यमय मृत्यु प्रकरणले तनाउ फैलिएको छ। आइतवार राति जलपाइगढ़ी शहरको सेनपाड़ामा भाड़ाको घरबाट कन्स्टेबल मामनी रायको झुण्डिएको शव उद्धार गरिएको हो। तिनी जलपाइगढ़ी सदर ट्राफिक पुलिसमा कन्स्टेबल पदमा कार्यरत थिइन्। तिनका श्रीमान चन्दन बर्मनको अर्की एक महिलासित सम्बन्ध बनेको मृतकका परिवारजनले आरोप लगाएका छन्। त्यसकारण घरमा कलह आरम्भ भएको थियो। विरोध गर्दा मामनीलाई कुटपिट गरिन्थ्यो। मृत्युको जाँचको माग गर्दै कन्स्टेबलको परिवार पुलिससमक्ष पुगेको छ। मैनागुड़ीको हेलापाकड़ीकी छोरी मामनीको नौ वर्षअघि कोचबिहारको घोकसाडाङ्गाका वासिन्दा चन्दन बर्मनसित विवाह भएको थियो।
तिनीहरूका दुई छोरा छन्। मृतकका भेना अरुणकुमार रायले भने, मेरो सालीसित चन्दनको पहिलेदेखि नै प्रेम सम्बन्ध थियो। मामनीले पुलिसमा जागिर पाइन्। चन्दन एउटा सरकारी कलेजमा करारमा प्रशिक्षकको रूपमा कार्यरत छन्। तर चन्दन कार्यस्थलमा अर्की एक महिलासित सम्बन्धमा जोड़िए। यस विषयले घरमा अशान्ति आरम्भ भयो। विरोध गर्दा चन्दनले मामनीलाई कुटपिट गर्थे। तिनीअनुसार आइतवार दिउँसो पनि कुटपिट गरिएको थियो र त्यसकारण मामनीले आत्महत्या गरिन्।
यद्यपि चन्दनले भने, मेरो कुनै महिलासित सम्बन्ध छैन। यताउता सुनेको कुराबारे झगड़ा गर्थिन्। प्रमाण भए अगाड़ि ल्याऊ भनेर मैले भनेको थिएँ। तिनले ल्याउन सकिनन्। कुटपिटको आरोप अस्वीकार गर्दै तिनले भने, हिजो छोरालाई कुट्दै थिइन् त्यसैले रिसमा मैले श्रीमतीलाई एक थप्पड़ हानेँ। त्यसपछि सबै सामान्य भयो। बसेर कुराकानी पनि भयो। त्यसपछि यो घटना भयो। यस विषयमा जिल्लाका अतिरिक्त पुलिस अधीक्षक सौभनिक मुखोपाध्यायले भने, उक्त कन्स्टेबल मातृत्व बिदामा थिइन्। बीचमा एकपल्ट काममा फर्किएर चालु महीनाको 4 तारिखदेखि पुनः बाल हेरचाह बिदामा गएकी थिइन्। यसैबीच यो घटना भएको हो। अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरिएको छ। परिवारको तर्फबाट के कस्तो उजुरी दर्ता हुन्छ, त्यसको आधारमा जाँच अघि बढ़ाइनेछ।

By Paromita