आपस्तको मतभेदलाई समाधान गरेर आफ्नै घर फर्किनुहोस्। सम्मानसहित पार्टीमा समावेश गरिनेछ। विधानसभा चुनाउको मुखैमा फरवार्ड ब्लकका पूर्व विधायक अली इमरान रामज (विक्टर) लाई लक्षित गरेर यस्तै सन्देश दिएका छन् पार्टीका राज्य सचिव नरेन चट्टोपाध्यायले। तर यस आह्वानलाई सिधै रातो कार्ड देखाउँदै फरवार्ड ब्लक नेतृत्वप्रति प्रहार गर्न पछि परेनन् गोयालपोखर र चाकुलियाका पूर्व विधायक तथा हाल कङ्ग्रेसका राज्य महासचिव विक्टर। आफ्नै गल्ती बुझ्न फरवार्ड ब्लक नेतृत्वलाई साढ़े तीन वर्षभन्दा अधिक समय किन लाग्यो? विक्टरले प्रश्न गरेका छन्। तिनले भनेका छन्, यत्रो समय तिनीहरू के सुतिरहेका थिए? समयमै गल्ती अनुभव गरेको भए आज फरवार्ड ब्लकको यस्तो दुर्दशा हुने थिएन। सन् 2021 को अन्त्यतिर फरवार्ड ब्लकबाट तिनलाई निष्कासन गर्ने निर्णयलाई राज्यका पूर्व मन्त्री स्वर्गीय हाफिज आलम साइरानीका भतिजा अली इमरान रामजले अझै स्वीकार गर्न सकेका छैनन्।
त्यसै समयमा साइरानीसित पनि फरवार्ड ब्लक नेतृत्वको विवाद उत्पन्न भएको थियो। विक्टरसहित पाँचजनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय फरवार्ड ब्लकले घोषणा गरेको थियो। त्यसपछि साइरानी र विक्टर कङ्ग्रेसमा सामेल भए। फरवार्ड ब्लकका राज्य सचिव नरेन चट्टोपाध्यायले आज सञ्चार माध्यमका लागि लिखित वक्तव्य जारी गर्दै विक्टरसहित पुराना नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन्। तर यस विषयमा फरवार्ड ब्लक नेतृत्वले आफूसित कुनै कुराकानी नगरेको विक्टरको दाबी छ।
साथै तिनले भने, अब कुनै फाइदा हुने छैन। धेरै ढिलो भइसकेको छ। म अहिले कङ्ग्रेसको राज्य महासचिव हुँ। कङ्ग्रेसको टिकटमा मैले गत लोकसभा चुनाउमा रायगञ्ज क्षेत्रबाट प्रतिस्पर्धा गरेको थिएँ। जनताले मलाई लगभग तीन लाख मत दिएका छन्। विधानसभा चुनाउमा पनि कङ्ग्रेसकै टिकटमा प्रतिस्पर्धा गर्नेछु।
फरवार्डमा फर्कने विक्टरलाई नरेनको सन्देश
