कोभिड नेपाल: सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या ‘केही सातादेखि स्थिर’ रहनुको कारण के होला?

स्वास्थ्य अधिकारी र विज्ञहरूले केही सातादेखि नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या “स्थिर अवस्थामा रहेको” बताएका छन्।

उनीहरूका भनाइमा यो अवस्थाले “नेपालमा कोरोनाभाइरसको जोखिम कम नभएको र कुनै पनि बेला फेरि सङ्क्रमणको दर उकालो लाग्नसक्ने” जोखिम रहेको देखाएको छ।

यद्यपि त्यसका लागि भाइरसको भेरिअन्ट र स्वास्थ्य मापदण्ड पूरा गरिएको वा नगरिएको कुराले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरू बताउँछन्।

कोभिड नियन्त्रणका लागि सरकारका तर्फबाट लगाइएका अधिकांश प्रतिबन्धहरू हटाइएकाले सबैलाई विशेष सतर्कता अपनाउन पनि अधिकारीहरूले आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार गएका केही सातादेखि नेपालमा कोभिडका गम्भीर बिरामीको सङ्ख्यामा खासै कमी आएको देखिँदैन।

मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा अस्पतालका सघन उपचार कक्ष,आईसीयू, र कृत्रिम स्वास्प्रश्वास यन्त्र, भेन्टिलेटर, मा रहेका बिरामीको सङ्ख्यामा खासै कमी नआएको देखिएको हो।

यद्यपि कैयौँले मन्त्रालयले सङ्कलन र सार्वजनिक गर्ने विवरणमा “कैयौँको तथ्याङ्क नसमेटिएको” र “त्यो नै यथार्थ अवस्था झल्काउने विवरण नहुन पनि सक्ने” भन्दै प्रश्न उठाएका विवरणहरू पनि पछिल्ला दिनमा सार्वजनिक भएका छन्।

विगत एक साताको तथ्याङ्क हेर्दा आईसीयूमा रहेका बिरामीको सङ्ख्या दैनिक पाँच सय ६० देखि ६ सयको बीचमा देखिएको छ।

त्यो सङ्ख्या भनेको गत वैशाख-जेठमा नेपालमा कोरोनाभाइरस सङ्क्रमण उच्च विन्दुमा पुगेको अवस्थाको एक तिहाई हो।

तर केही सातादेखि गम्भीर बिरामीको सङ्ख्या स्थिर देखिनुलाई “कोरोनाभाइरसको जोखिम कम नभएको रूपमा लिनुपर्ने” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

कोभिडका गम्भीर बिरामीको चाप अहिले सरकारी अस्पतालमा परिरहेको अधिकारीहरूको भनाइ छ।

अस्पतालमा कार्यरत कतिपय चिकित्सकहरूले सामाजिक सञ्जालमा आफ्ना अस्पतालमा गम्भीर बिरामीको सङ्ख्या बढेको भन्ने जानकारीहरू बेला बेला लेख्ने गरेका छन्।

प्रवक्ता पौडेल भन्छन्, “हामीले अहिले निजी अस्पतालले कोभिड बिरामीलाई गरेको उपचारको शोधभर्ना नगर्ने नीति लियौँ। त्यो पनि सरकारी अस्पतालमा भर्ना हुने कोभिडका गम्भीर बिरामीको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्छ।”

सरकारले गत असार ८ गते निजी अस्पतालहरूलाई उपचारको सोधभर्ना नगर्ने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल अहिले पनि कोरोनाभाइरसको सङ्क्रमण नघटेको बताउँछन्।

पौडेल भन्छन्, “परीक्षण गरिएकामध्ये २० देखि २५ प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ। त्यो भनेको चार/पाँच जनामा परीक्षण गर्दा एकजनामा देखिनु हो।”

“समग्रमा अवस्था स्थिर नै छ। जोखिम पनि उत्तिकै छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *