सिलगढ़ीको नम्बर प्लेट प्रयोग गरेरै चन्द्रनाथको हत्या?

शुभेन्दु अधिकारीका निकट सहयोगी चन्द्रनाथ रथको हत्यामा प्रयोग गरिएको गाड़ीको नम्बर प्लेट र च्यासिस नम्बरबारे प्रश्न उठेको छ। प्रारम्भिक रूपमा थाहा भएअनुसार, गाड़ीमा प्रयोग गरिएको नम्बर प्लेट नक्कली थियो। अब त्यसै नम्बरको वास्तविक गाड़ी सिलगढ़ीमा फेला परेको छ। गाड़ीका मालिक पनि पहिचान भएका छन्। विलियम जोसेफ नामक उक्त व्यक्तिलाई पुलिसले सोधपुछ गरिसकेको छ। बुधवार राति मध्यमग्रामको दोहारिया क्षेत्रमा अघिल्तिरबाट गोली हानी चन्द्रनाथ रथ (42) को हत्या गरिएको हो। चन्द्रनाथ रथका गाड़ी चालक बुद्धदेव बेरा अस्पतालमा भर्ना छन्। अस्पताल सूत्रअनुसार तिनको अवस्था पनि अहिले राम्रो छैन।
बुधवार राति दोहारियामा चन्द्रनाथ रथको फ्ल्याटतर्फ जाने गल्लीको मुखमै तिनलाई गोली हानिएको थियो। एउटा सानो गाड़ीले पहिले तिनको गाड़ीको बाटो रोक्यो। त्यसपछि लगातार गोली प्रहार गरियो। चन्द्रनाथ रथको छातीमा गोली लाग्यो। जुन गाड़ी आएर चन्द्रनाथको गाड़ीअघि रोकिएको थियो त्यसको नम्बर प्लेट नक्कली रहेको जाँचमा खुलेको छ। उक्त गाडी सिलगढ़ीको आरटीओमा दर्ता भएको जाँछबाट थाहा भएको छ। गाड़ी मालिक विलियम जोसेफ हुन्। तिनलाई मतिगढ़ा थानामा बोलाएर सोधपुछ गरिएको थियो।
जोसेफले भने, राति लगभग 12 बजीतिर कोलकाताबाट मलाई फोन आयो। म कहाँ छु, मेरो गाड़ी कहाँ छ भनेर मलाई सोधियो। मैले सिलगढ़ीमा छु भनेर बताएँ। त्यसपछि मेरो गाड़ीको नम्बर प्रयोग गरेर एउटा हत्या भएको बताइयो। तुरुन्तै गाड़ीको फोटो र विवरण पठाउन भनियो। ती सबै मैले पठाएँ। त्यसपछि सिलगढ़ी कमिश्नरेटबाट फोन आयो। पुलिस मेरो घरमा आएर मलाई र गाड़ीलाई थानामा लिएर गयो। दर्ता नम्बर र च्यासिस नम्बर जाँच गरियो। पछि मलाई छोड़ियो। तर तिनको गाड़ीको नम्बर किन प्रयोग गरियो? यसबारे जोसेफले भने, 1-2 हप्ताअघि मैले गाड़ी बिक्रीका लागि ओएलएक्समा विज्ञापन दिएको थिएँ। उक्त गाड़ीको नम्बर प्लेटलाई केन्द्र बनाएर अहिले विवाद भइरहेको तिनले बताए। त्यहाँबाट कसैले नम्बर प्रयोग गरेको हुन सक्ने तिनले सञ्चारमाध्यमलाई बताए। पुलिस जाँचमा पूर्ण सहयोग गर्ने पनि तिनले बताए। अर्कातिर हत्यामा प्रयोग गरिएको एउटा बाइक पनि कोलकाताबाट जफत भएको खबर छ।

By Paromita