बारम्बार स्ट्रङ्ग रूमको क्यामेरा बन्द!

फेरि कोचबिहार पोलिटेक्निक कलेजको स्ट्रङ्ग रूमको सिसी क्यामेराको मोनिटर डिस्प्लेबारे आरोप उठेको छ। कोचबिहार दक्षिण विधानसभाका तृणमूल कङ्ग्रेसका उम्मेदवार अभिजीत डे भौमिकपछि यसपल्ट कोचबिहार उत्तरका तृणमूल उम्मेद्वार पार्थप्रतिम रायले पनि आरोप लगाएका छन्। शनिवार राति केही समयसम्म डिस्प्ले बन्द रहेको आरोप छ। पार्थप्रतिम बाबुको दाबीअनुसार शनिवार राति कोचबिहार पोलिटेक्निकको स्ट्रङ्ग रूमको सिसी क्यामेराको मोनिटर राति 12 बजीपछि सात मिनटका लागि बन्द भएको थियो। ईभीएम राखिएको स्ट्रङ्ग रूमको सुरक्षा र त्यहाँको प्रत्येक क्षणको पारदर्शिता अत्यन्त महत्त्वपूर्ण विषय हो। यहाँको सम्पूर्ण व्यवस्था चुनाउ आयोगको अधीनमा छ। तर पनि यस्तो किन भइरहेको छ भन्ने प्रश्न तिनले उठाएका छन्।
कोचबिहार पोलिटेक्निकको स्ट्रङ्ग रूमको सिसी क्यामेराको डिस्प्लेबारे किन बारम्बार आरोप उठिरहेको छ? कतै कुनै लापरवाही छ कि? यस्ता प्रश्नहरू अहिले विभिन्न तहमा उठिरहेका छन्। पार्थप्रतिम बाबुले भने, यो विषय साँच्चै शङ्कास्पद छ। तत्काल यसबारे अवलोकनकर्ता, जिल्ला अधिकारी तथा रिटर्निङ अफिसरको स्पष्ट मत आवश्यक पर्छ। राति सात मिनटसम्म डिस्प्ले बन्द रहेको थियो। उक्त सात मिनटको फुटेज सार्वजनिक गर्नुपर्ने माग गर्छु। स्ट्रङ्ग रूममा केही न केही समस्या भइरहेको छ। स्ट्रङ्ग रूमको लबीमा कसैको अनुमतिबिना एजेन्सीका एक विशेष व्यक्तिको स्वतन्त्र आवतजावत हुनु हामीले बुझ्न सकेको छैनौँ। साथै तीन दिनमा दुईपल्ट सिसी क्यामेराको मोनिटर ब्ल्याकआउट हुनु कुनै संयोग मात्र होइन। यो ठूलो षड़यन्त्रको सङ्केत हो। जिल्लाका चुनाउ अधिकारी तथा चुनाउ आयोगद्वारा नियुक्त जिल्ला अधिकारीसमक्ष यी विषयहरू राखिएको छ।
जिल्ला तृणमूल अध्यक्ष अभिजीत डे भौमिक (हिप्पी) ले भने, त्यहाँ कुनै षड़यन्त्र गर्ने प्रयास भइरहेको छ। हामीले पनि निगरानीमा गरिरहेका छौँ। भाजपा जिल्ला महासचिव बिराज बसुले भने, हामी पनि त्यहीँ प्रश्न उठाइरहेका छौँ कि क्यामेरा किन बन्द भइरहेको छ? प्रशासनले यसबारे जाँच गरोस्। यद्यपि जिल्ला अधिकारी जितिन यादवले भने, अघिल्लो दिनको प्राकृतिक विपदका कारण जुन क्यामेरामा समस्या आएको थियो त्यहीँ पुनः समस्या देखिएको हो। हामी त्यहाँ डबल क्यामेरा जड़ान गरिरहेका छौँ। डबल डिस्प्ले रहनेछ। पहिले जड़ान गरिएको क्यामेरा पनि रहनेछ। चुनाउ सम्पन्न भएपछि कोचबिहार उत्तर र दक्षिण विधानसभाका ईभीएमहरू कोचबिहार पोलिटेक्निकको स्ट्रङ्ग रूममा राखिएको छ। स्ट्रङ्ग रूमको ढोका अहिले सिल गरिएको छ। त्यहाँ सिसी क्यामेराको डिस्प्ले बन्द भएको आरोप उठिरहेको छ जसबारे तृणमूलले यसअघि पनि प्रदर्शन गरेको थियो। आइतवार उत्तरका उम्मेद्वारले सामाजिक सञ्जालमा पोष्ट गर्दै आरोप दोहोऱ्याएका छन्। तिनी स्वयं पनि स्ट्रङ्ग रूममा पुगेका थिए। सदर उपमहकुमा शासक गोविन्द नन्दी पनि घटनास्थल पुगे। खबर पाएपछि जिल्ला अधिकारी जितिन यादव पनि त्यहाँ पुगे। स्ट्रङ्ग रूमको सिसी क्यामेराको फुटेज टेलिकास्ट बन्द भएपछि पार्थप्रतिम राय मुखर भएका छन्।

By Paromita