आईपीएलको बाँकी खेल सेप्टेम्बरमा हुने तयारी गरिँदै

इन्डियन प्रिमियर लिग(आईपीएल)को बाँकी खेल आगामी सेप्टेम्बर अक्टोबर महिनामा गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले तयारी गरेको छ । खेलाडी सङ्क्रमित हुने क्रम बढेपछि आईपीएलको पछिल्लो संस्करण गत् मई महिनाको सुरुवातमा बीचमै रोकिन पुगेको हो । मई चारमा आईपीएल स्थगित भएको थियो ।
बीसीसीआईले सेप्टेम्बर १८ देखि अक्टोबर १२ सम्म बाँकी खेल सम्पन्न हुने गरी तयारी गरेको हो । क्यारेबियन प्रिमियर लिग(सीपीएल) अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म चल्नेछ । बीसीसीआईले खेल तालिका जुध्ने अवस्थामा केही दिन अगावै सीपीएल सार्न प्रस्ताब गर्ने बताइएको छ । तर वेष्टइन्डिजले पाकिस्तान विरुद्धको अन्तिम टेष्ट खेल अगष्ट २० देखि २४ सम्म खेल्नेछ । जसले गर्दा वेष्टइन्डिज क्रिकेटलाई समेत सीपीएल सार्न समस्या हुने देखिएको छ ।
भारतले इंग्ल्याण्डमा पाँच खेलको टेष्ट श्रृखंला खेल्ने तालिका पूर्व निर्धारित छ । दुई टोलीबीच अगष्ट चारदेखि सेप्टेम्बर १४ सम्म पाँच खेलको टेष्ट शृङ्खला हुनेछ । बीसीसीआईले उक्त शृङ्खलालाई छोट्याउनसमेत इंग्ल्याण्डसमक्ष आग्रह गर्ने बुझिएको छ । तर इंग्ल्याण्डले अत्यन्तै थोरै समयमा धेरै प्रतियोगिता खेलाउनुपर्ने र उसले ‘द हण्ड्रेड’ फ्रेञ्चाइज क्रिकेट समेत सोही अबधिको सेरोफेरोमा आयोजन ागर्न लागेकोले बीसीसीआईको प्रस्ताव स्वीकार गर्न इंग्ल्याण्ड बोर्डलाई समेत कठीनाइ हुनेछ ।
बीसीसीआईले यूनाइटेड अरब एमिरेट्स(यूएई)मा आईपीएलको बाँकी खेल खेलाउने छलफल गरिरहेको छ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ सुरु हुनुभन्दा एक साता अघि सम्पन्न हुने गरी आईपीएलको तालिका बनाइदैछ ।
आईपीएलमा २५ खेल खेल्न बाँकी छ । प्रतियोगिता पूर्ण रुपमा सम्पन्न हुन कम्तिमा ३१ दिन लाग्नेछ ।
कोरोनाको दोस्रो लहरबाट नराम्ररी प्रभाबित भएको भारतले टी ट्वान्टी विश्वकप क्रिकेटको आयोजना ब्यवस्थापन गर्न समस्या देखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *