गोरामुमो सिटोङ लाट समष्टि द्वारा भव्य रूपमा ४०औँ शहीद दिवस सम्पन्न

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सिटोङ लाट समष्टिको आयोजनामा ४०औँ शहीद दिवस सोमबार शेल्पु भुजेल कम्युनिटी हलमा श्रद्धा, सम्मान र ऐक्यबद्धताको भावनासहित भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा गोर्खाल्यान्ड आन्दोलनका सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको त्याग, बलिदान र आदर्शलाई स्मरण गरिएको थियो।
समष्टि अध्यक्ष जे.बी. राईको सभापतित्व तथा समष्टि सदस्य रबिन तामाङको सञ्चालनमा सम्पन्न कार्यक्रममा वैदिक विधिअनुसार पूजा–अर्चना गरी १०८ दीप प्रज्वलन गरिएको थियो। त्यसपछि शहीद वेदीमा खदा तथा माल्यार्पण गरी अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गरियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मुङ्पु लाट समष्टि अध्यक्ष के.बी. गुरुङ रहेका थिए। यस अवसरमा सन् १९८६ को ऐतिहासिक गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका आन्दोलनकारी (योद्धा) हरूलाई खदा र माला लगाएर विशेष सम्मान गरिएको थियो।
स्वागत मन्तव्य राख्दै समष्टि सचिव निर्मल तामाङले शहीदहरूको सपना साकार पार्न सम्पूर्ण गोर्खा समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमलाई सम्बोधन गर्दै खर्साङ ब्राञ्च कमिटी सदस्य ए.के. थापाले पहाडको राजनीतिक भविष्यबारे आफ्नो धारणा राख्दै विगतका विभाजन र विवादलाई पछाडि छाडेर शहीदहरूको बलिदानअनुसार न्याय सुनिश्चित गर्नुपर्ने बताए। उनले पहाडको भविष्य जनभावना र शहीदहरूको त्यागको सम्मानका आधारमा तय हुनुपर्ने धारणा व्यक्त गरे।
शहीदहरूप्रति श्रद्धाञ्जलीस्वरूप राजेश तामाङले भावपूर्ण कविता प्रस्तुत गरेका थिए। साथै विभिन्न शाखाका अध्यक्ष, सचिव तथा गोरायुमो सिटोङ लाट समष्टिका सदस्य अवि क्षेत्रीले पनि शहीदहरूको योगदान, जातीय एकता र संगठनात्मक सुदृढीकरणको आवश्यकतामाथि आफ्नो विचार राखेका थिए।
प्रमुख अतिथि के.बी. गुरुङले सफल कार्यक्रम आयोजनाका लागि सिटोङ लाट समष्टिलाई बधाई दिँदै सम्पूर्ण गोर्खा समाजलाई एकताबद्ध भएर शहीदहरूको अधुरो सपना पूरा गर्न आग्रह गरे। उनले शहीदहरूको त्याग र बलिदानलाई पुस्तौँसम्म स्मरण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्त्यमा सभापति जे.बी. राईले उपस्थित सम्पूर्ण अतिथि, कार्यकर्ता तथा जातिप्रेमी जनताप्रति आभार व्यक्त गर्दै सभा समापनको घोषणा गरे।
समष्टिका मिडिया प्रभारी रिन्छेन जिम्बाका अनुसार कार्यक्रममा सिटोङ लाट समष्टिअन्तर्गतका विभिन्न शाखाबाट ठूलो संख्यामा जातिप्रेमी जनता सहभागी भएका थिए, जसले शहीदहरूप्रतिको सम्मान र संगठनप्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको छ।

By Paromita